पोखरा महानगरका विभिन्न वडाहरुमा काँग्रेसको चुनावी अभियान जारी

१५ नम्बर वडाबासीको रहर, समक्ष, योग्य र इमान्दार उम्मेवार
पोखरा २३ बैशाख ।
पोखरा महानगरपालिका वडानम्बर १५ का स्थानीय बासिन्दाले आफूहरुलाई सक्षम, योग्य र इमान्दार उम्मेदवार आवश्यक रहेको बताएका छन् । स्थानीय तह निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलोमा हिडेका उम्मेदबारहरुसँग वडाबासीले यस्तो माग गरेका हुन् ।

यसअघिका वडाध्यक्षले स्थानीयको माग सम्बोधन गर्न नसकेको भन्दै उम्मेदबारहरुसँग वडामा रहेको सुकुम्बासीको समस्या समाधान गर्नुपर्ने, युवाहरुका लागि खेल मैदान बनाउनुपर्ने व्यक्तिले भोगचलन गरेको सार्वजनिक जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । ‘हिजोका अध्यक्षले धेरै काम गर्न सकेनन्, अहिले जसले काम गर्छ उसैलाई भोट दिन्छौं’ स्थानीयको भनाई छ ।

गठबन्धनका उम्मेदवारहरुलाई जिताउने अभियानमा रहेको वडानम्बर १५ मा अहिलेसम्म करिब ७५ प्रतिशत घरदैलोको कार्यक्रम सकिएको नेपाली काँग्रेस वडानम्बर १५ का इकाई सचिव प्रितम गुरुङ्गले जानकारी दिए । शुक्रबार स्यानीपाटन क्षेत्रमा घरदैलो कार्यक्रम भएको छ । वडामा २६ गते गठबन्धनका उम्मेदबार सहित चुनावी कोणसभा हुदैछ भने २५ गते अमरसिंहचौरमा हुने पार्टीको चुनावी आमसभामा वडानम्बर १५ बाट भव्य सहभागिता गराउने तयारी भएको छ ।

वडानम्बर २० को पहिलो माग, वडा कार्यालय भवन
पोखरा २३ बैशाख ।
पोखरा महानगरपालिका वडानम्बर २० मा अब चुनिने जनप्रतिनिधिले पहिलो काम वडा कार्यालय भवन बनाउनु पर्ने भएको छ । अहिलेसम्म वडाको भवन पनि नहुदाँ सेवाग्राहीलाई समस्या परेकाले आफूहरुले वडाभवनलाई नै प्राथमिकतामा राखेको नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदबार महेन्द्र अधिकारीले बताए । चुनाव प्रचारप्रसारका क्रममा स्थानीयको पहिलो माग नै वडा कार्यालय भवन रहेको छ ।
काँग्रेसले वडामा अहिलेसम्म ९० प्रतिशत घरदैलोको कार्यक्रम सकिसकेको छ भने यहि २४ गते चुनावी सभा गर्दैछ ।

भौगोलिक विकटता रहेको २० नम्बर वडामा समग्र विकासका कामहरु गर्नुपर्ने जस्तै बाटोघाटो, पुलपुलेसा, खानेपानी, दलित वस्ती व्यवस्थापन लगायतका समस्या समेत रहेका छन् । बाख्रापालनको पकड क्षेत्र मानिने यसै वडामा रहेको महेन्द्र माविलाई गण्डकी विश्वविद्यालयसँग समन्वय गरेर कृषिमा स्नातक तहसम्मको पठनपाठन गराउने, डिपिआर भैसकेको लामीडाडा–मौजा–आटीघर–अर्मला–जोगिमणि जोड्ने सडक र बेशी पिपलडाली–आटीघर सडकलाई योजनामा राखेर क्रमश कालोपत्रे गर्ने, मठमन्दिर, हरिहर गुफा लगायतलाई विकास गरि पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको वडाध्यक्षका उम्मेदबार महेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

वडानम्बर २ मा काँग्रेसको जित पक्का
पोखरा २३ बैशाख । पोखरा उपमहानगरपालिका वडानम्बर २ मा नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार अन्र्तगत घरदैलो कार्यक्रम सकिएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि घरदैलो सम्पन्न भएको हो ।

मतदाता भेटघाट, चुनावी सभा, टोल इकाई सभापति र बहालवाला सभापतिहरुसँग छलफल लगायतका कार्यक्रम बाँकी रहेको भएपनि यस वडामा नेपाली काँग्रेसका उम्मेदबारको जित पक्का भएको नेपाली काँग्रेस वडानम्बर २ का ईकाई सभापति अरुण कायस्थले जानकारी दिए । यसअघि काँग्रेस वडाध्यक्ष रहेको २ नम्बरका बासिन्दाले अहिले पनि काँग्रेसकै जित हुने प्रतिवद्धता समेत जनाएका छन् ।

वडाबासीले शान्ती सुरक्षा प्रत्याभुतिका लागि टोलटोलमा सिसि क्यामेरा राख्नुपर्ने माग राखेका छन् भने अहिले वडाका विभिन्न स्थानमासडक मर्मतको काम भैरहेको छ ।

यसैगरी वडानम्बर ३ मा घरदैलो कार्यक्रम सकिएको छ । ३ नम्बरमा चुनावी प्रचारप्रसार अन्र्तगत पहिलो चरणमा घरदैलो, मतदाता शिक्षा, टोलटोलमा बैठक लगायतका कार्यक्रम सकेर फेरि मतदाता भेटघाट गरिरहेको नेपाली काँग्रेस वडानम्बर ३ का ईकाई सभापति नारायणमान उदासले जानकारी दिए । वडाभित्र पर्ने निलगिरी गुठीबारी टोल नदिपुर, कन्यामार्ग, भित्रीमार्ग, नारायणस्थान टोल, धर्मशिला बुद्धबिहार मार्ग, कोपिलढुंगा, तेर्सापट्टिटोल, ज्ञानमार्ग लगायतका क्षेत्रमा घरदैलो भएको हो ।

वडानम्बर ६ मा पनि घरदैलो कार्यक्रम भैरहेको छ । शुक्रबार स्ट्रीट नम्बर ५ देखि १४ सम्म घरदैलो भएको इकाइ सभापति सन्तोष पौडेलले जानकारी दिए । पर्यटकिय क्षेत्र भएकाले वडामा पर्यटन व्यवसायीका लागि व्यवसायिक सुरक्षा, छिमेकी वडा, ७, १७ र १८ सँग समन्वय गरि हाइकिङ्ग रुट निर्माण, पर्यटन विकासका लागि तालबाराही स्कूललाई नमुना स्कूलको रुपमा विकास गर्ने, फेवातालको संरक्षण लगायतका एजेण्डाहरु लिएर मतादाता समक्ष पुगेको पौडेलको भनाई छ । वडानम्बर ६ मा नेपाली काँग्रेसका जगतबहादुर पाहारीको नेतृत्वमा पवित्रा थापा, शोभा जलारी, मावोबादी केन्द्रबाट कृष्णप्रसाद आचार्य र नेकपा एसबाट विकास पहारी उम्मेवार छन् ।

यसैगरी वडानम्बर ११ मा पनि काँहुडाडा र रानीपौवासम्मको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । भानुमार्गको आसपासमा शुक्रबार घरदैलो गरिएको काँग्रेस वडा इकाई समितिका सभापति हरिप्रसाद बास्तोलाले जानकारी दिए । बास्तोलाका अनुसार नेपाली काँग्रेसका प्रेमप्रसाद कर्माचार्य वडाध्यक्ष पदको उम्मेदबार र सदस्य पदका उम्मेदवारहरु वडाको विकास, शिक्षा र स्वास्थ्य जस्ता एजेण्डा बोकेर मतदाताको घरदैलो गरिरहेका छन् ।

यसैगरि पोखरा महानगरपालिका वडानम्बर १६ मा शुक्रबार पोखरा महानगरका मेयर पदका उम्मेदबार धनराज आचार्य र उपमेयरका उम्मेदबार कोपिला रानाभाटको उपस्थितीमा चुनावी सभा सम्पन्न भएको छ ।

पूर्व कानुनमन्त्री तथा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न चुनावी सभामा मेयर, उपमेयरसँगै वडाध्यक्ष पदका उम्मेदबार अमृत शर्मा तिमिल्सिनाले वडाबासीको समस्या पहिचानसँगै कृषि, सामाजिक, शिक्षा, स्वास्थ्य लगायत वडानम्बर १६ को घोषणपत्र अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

संयुक्त निर्वाचन परिचालन समितिका संयोजक पदम गुरुङ्गको अध्यक्षतामा सम्पन्न चुनावी सभामा महाधिवेशन प्रतिनिधि तथा संयुक्त निर्वाचन परिचालन समितिका सहसंयोजक मदन बस्नेत तथा माओवादी केन्द्रका पोखरा नगर अध्यक्ष हरिनारायण गिरी विज्ञान लगायतले आ–आफ्नो भनाई राखेको प्रचारप्रसार उपसमितिका संयोजक शिवराज देवकोटाले जानकारी दिए ।

 

Comments
Loading...