गठबन्धन काँग्रेसका लागि सबैभन्दा बढी आवश्यक छ : प्रधानमन्त्री देउवा

हिमाली आवाज । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित बृहद् चुनावी सभालाई सम्बोधन गर्दै उहाँले गठबन्धनलाई मजवुद बनाएर लैजानुपर्ने बताउनुभयो ।

गठबन्धन काँग्रेसका लागि सबै भन्दा बढी आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो,“ गठबन्धन बन्नु अघि हाम्रो कस्तो अवस्था थियो, आज काँग्रेसको नेतृत्वमा सरकार छ सबै पार्टी मिलाएर बसेको छ ।”

गठबन्धनमा शङ्का, शसङ्का गर्नुपर्ने अवस्था नरहेको बताउँदै उहाँले प्रचण्ड र माधव नेपाल एवम् गठबन्धनका दलले उदार भएर काँग्रेसलाई सहयोग गरेको र छ महानगर मध्ये तीनवटा महानगरको नेतृत्व काँग्रेसलाई दिएको बताउनुभयो । महानगर मात्र नभई हरेक पालिकामा गठबन्धनलाई विजयी बनाउन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो ।

ओलीको  शासनका विरुद्धमा गठबन्धन बनेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले संसदमा विरोध ग¥यो भने संसद नै भङ्ग गरिदिने, फिर्ता ल्याएको संसद चल्न नदिने, प्रजातन्त्रको खिलापमा लाग्ने जस्ता प्रवृत्तिका विरुद्ध गठबन्धन एक भएको बताउनुभयो ।

गठबन्धनलाई विजयी बनाउनका लागि काँग्रेसी कार्यकर्ताहरू गठबन्धनका अन्य दलले भन्दा पनि मिहिनेतका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

Comments
Loading...