हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचनमा कास्कीको माछापुच्छ«े गाउँपालिकामा नेपाली काँग्रेसले ठूलो सफलता हात पारेको छ ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित सात वडामा विजय हुँदै काँग्रेसले नेकपा(एमाले)को विरासतलाई भत्काउन सफल भयो । काँग्रेसले माछापुुच्छ्रेमा ऐतिहासिक जित हासिल गरेको छ ।
गाउँपालिकाको अन्तिम मत परिणाम अनुसार काँग्रेसका मीनबहादुर गुरुङ सात हजार ९९ मत सहित अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा(एमाले)का उम्मेदवार विक्रम गुरुङले छ हजार ६१७ मत ल्याउनुभयो ।

यसैगरी उपाध्यक्षमा काँग्रेका सीता अधिकारीले छ हजार ३७६ मत प्राप्त गरी विजयी हुँदा एमालेका सीता तिवारीले पाँच हजार ९५१ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत विष्णु प्रसाद पोखरेलले जानकारी दिनुभयो ।
नौ वडा रहेको गाउँपालिकामा नेपाली काँग्रेसले वडा नं १, २, ३, ४, ५, ८ र ९ मा जित हासिल गरेको छ । यसैगरी नेकपा(माओवादी केन्द्र)ले वडा नं ७ र नेकपा(एमालेले) वडा नं ६ मा विजयी भएको छ ।
गाउँपालिकाको वडा नं १ मा काँग्रेसका इन्द्रबहादुर गुरुङ, वडा नं २ मा गणेश आचार्य, वडा नं ३ मा हरिश्चन्द्र लम्साल, वडा नं ४ मा मधुसुदन अधिकारी, वडा नं ५ मा नारदप्रसाद पौडेल, वडा नं ६ मा एमालेका टेकनाथ गौतम, वडा नं ७ मा माओवादी(केन्द्र)का बैकुण्ठ भण्डारी, वडा नं ८ मा काँग्रेसका राम गुरुङ र वडा नं ९ मा हरिबहादुर क्षेत्री विजयी हुनुभएको छ ।
विसं २०७४ को पहिलो स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित आठ वडा एमाले र एक वडा मात्र नेपाली काँग्रेसले जितेको थियो ।