एमालेको वहिष्कारका कारण रोकिएको पोखरा महानगरको मतगणना साँझदेखी सुरु

हिमाली आवाज । स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको आज मध्यान्हदेखी रोकिएको मतगणना अहिले साँझ ७ः०० बजेदेखी पुनः सुरु भएको छ ।मतगणनाका क्रममा वडा नं १८ को नौ मत हराएको भन्दै नेकपा(एमाले)ले पुन ः मतगणनाको माग गर्दै अन्य वडाको मतगणना बहिष्कार गरेपछि दिनभर गणना रोकिएको थियो ।

सो वडामा एमालेका उम्मेदवार तीन मतले पराजित भएपछि एमालेले हराएको मत खोजी नहुँदासम्म चालू मतगणना सुरु हुन नसक्ने बताएपछि गणनामा बसेका एमालेका मतगणना प्रतिनिधि बाहिरिएका थिए ।मुख्य निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले वडा नं १८ को पुनः मतगणना गरी पाउुँ भनी नेकपा(एमाले)का तर्फबाट पेश भएको निवेदन दर्ता भई कानूनी कारवाहीको क्रममा रहेको बताउनुभयो ।उहाँले दलहरुबीच रोकिएको मत गणना सुचारु गर्ने सहमति भएकाले बाँकी वडामा गणना सुरु भएको जानकारी दिनुभयो ।

नेकपा(एमाले)का पोखरा महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले मतगणनाको क्रममा उत्पन्न समस्याको बारेमा थप छलफल गरी निचोड निकाल्न मुख्य निर्वाचन अधिकृतको कार्यालय तयार भएकाले स्थगित मतगणना सुचारु गर्न आफ्नो पार्टी सहमत भएको बताउनुभयो ।
वैशाख ३१ गतेदेखी सुरु भएको गणनामा खसेको कूल एक लाख ४३ हजार २२६ मत मध्येमा हालसम्म एक लाख ३९ हजार ४११ मत गणना सकिएको छ । वडा नं २२, ३२ र ३३ को आंशिक गणना बाँकी छ ।

हालसम्मको गणनामा सत्ता गठबन्धनबाट महानगर प्रमुखका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्यको विजय सुनिश्चित भएको छ । आचार्य निकटतम प्रत्याशी एमालेका कृष्णबहादुर थापा भन्दा पाँच हजार ४८५ मतले अघि हुनुहुन्छ ।

आचार्यले गणना बाँकी रहेको मत भन्दा बढीको अग्रता बनाएपछि समर्थकहरुले खुशीयाली मनाउँदै विजयी जुलुसको तयारी गरेपनि दिनभर गणना स्थगित हुँदा निरास बनेका थिए । उनीहरुले मतगणना तत्काल सुरु गर्न माग सहित नारावाजी गरेका थिए ।

हालसम्म प्रमुखका उम्मेदवार आचार्यले ५७ हजार ७२ मत प्राप्त गर्नुभएकामा उहाँका एमालेका थापाको ५१ हजार ५८७ मत ल्याउनुभएको छ ।

यसैगरी उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार मञ्जुदेवी गुरुङको जित निश्चित भएको छ । गुरुङले ५९ हजार ७० मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार कोपिला रानाभाटको ५५ हजार ८० मत रहेको छ । गुरुङको तीन हजार ९९० मत अग्रता छ ।

Comments
Loading...