विद्यार्थी राजनीति हुँदै पोखराको मेयरसम्म धनराज

हिमाली आवाज । पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य विजयी हुनुभयो । नेकपा(एमाले)बाट राजनीति सुरु गर्नुभएका आचार्य एमालेकै उम्मेदवार कृष्णबहादुर थापालाई पराजित गर्दै उहाँ पोखराको १५ औँ मेयर बन्न सफल हुनुभयो ।

एमालेका थापालाई छ हजार ४५ मतान्तरले पछाडि पार्नुभएका आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्नुभयो । थापाले ५२ हजार ८४८ मत ल्याउनुभयो ।पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको गैरागाउँमा बुबा ऋतुनाथ आचार्य र आमा जमुनादेवी आचार्यको कोखबाट २०२६ चैत १७ गते जन्मिनुभएका आचार्य नेकपा एकिकृत समाजवादी पार्टीको कास्की अध्यक्षका साथै केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ २०३९ सालमा १३ वर्षको उमेरमा भरतपोखरीमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको सदस्यतासँगै उहाँको विद्यार्थी राजनीति शुरु भएको थियो यो ।

विद्यालयबाट आरम्भ भएको उहाँको विद्यार्थी राजनीतिले क्याम्पस तहमा पुगेपछि थप गति लियो । देशकै ठूलो र प्रतिष्ठित मानिने पोखराको पृथ्वी नारायण क्याम्पसमा उहाँ अनेरास्ववियुको प्रारम्भिक कमिटि मार्फत सक्रिय बन्नुभयो ।

नेकपा एमाले सम्वद्ध विद्यार्थी संगठनमा २०४४ मा आवद्ध भए पश्चात उहाँले अनेरास्ववियुको विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । २०४५ सालमा अनेरास्ववियुको कास्की जिल्ला सदस्य रहनु भएका आचार्य त्यसपछि संगठनको सचिव र अध्यक्षका रुपमा सक्रिय बन्नुभयो । २०४८ सालमा अनेरास्ववियुको गण्डकी अध्यक्ष बन्नुभएका उहाँ २०४९ सालमा सो संगठनको केन्द्रीय सदस्य बन्नुभयो ।

पृथ्वीनारायण क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निवार्चनमा विभिन्न पदमा निर्वाचित भई जिम्मेवारी सम्हालेका उहाँ २०४९ सालमा उहाँ पृथ्वीनारायण क्याम्पसको स्ववियुको कोषाध्यक्ष बन्नुभयो भने २०५१ मा स्ववियुको सभापति निर्वाचित बन्नुभयो ।

२०५१ सालदेखि २०५३ सालसम्म उहाँ स्ववियु काउन्सिलको महासचिव बनेका आचार्य अनेरास्ववियुमा २०५० सालदेखि २०५४ सालसम्म पश्चिमाञ्चल प्रमुख र २०५४ सालदेखि २०५८ सालसम्म केन्द्रीय सचिवालय सदस्य बनेर विभागीय प्रमूखको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।
विद्यार्थी राजनीतिमा जस्तै पार्टी जीवनमा पनि उहाँ कलिलै उमेरमा लाग्नुभएको थियो । १४ वर्षको उमेरमा नै उहाँ तत्कालिन नेकपा मालेको युवा लिगमा आवद्ध हुनुहुन्थ्यो ।

विसं २०४५ सालमा राष्ट्यि पञ्चायतका सदस्य प्रत्याह्वान विरुद्ध आन्दोलन घाइते र गिरफ्तार आचार्य दुई वर्ष निरन्तर जेलका राजवन्दी र पार्टीबीचको सम्पर्क सुत्रको जिम्मेवारीमा रहनु भयो ।उहाँले २०४७ सालमा नेकपा मालेको संगठित सदस्यता प्राप्त गर्नुभएको थियो । तत्पश्चात उहाँले २०४६ सालदेखि पाँच वर्षसम्म पार्टी विद्यार्थी इलाका कमिटिमा सदस्य र सचिवको जिम्मेवारी निर्वाह गर्नुभयो ।

नेकपा एमाले कास्की जिल्ला कमिटि सदस्यका रुपमा २०५२ सालमा जिम्मेवारीमा रहनु भएका नेता आचार्य २०५४ सालमा पार्टी विभाजनका बेला नेकपा मालेमा आवद्ध हुनुभयो ।विसं २०५४ सालमा नेकपा मालेको कास्की जिल्ला कमिटिको सचिवालय सदस्य रहनु भयो । पार्टीको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा शुरु गर्नु भएका आचार्यले व्यवसायिक संगठनहरुको नेतृत्वमा रहेर पनि कार्य गर्नुभयो । विसं २०६० सालमा नेकपा एमाले कास्कीको उद्योग व्यवसाय विभाग प्रमुख रहनु भएका उहाँ २०६४ सालदेखि पाँच वर्षसम्म फ्रयाक्सन सचिवका रुपमा रहनुभयो ।

त्यसैगरी २०६९ सालदेखि २०७६ सालसम्म नेपाल उद्योग व्यवसायी महासंघको स्थायी कमिटि सदस्य र २०७१ सालदेखि चार वर्षसम्म नेकपा एमाले केन्द्रीय उद्योग तथा श्रम व्यवसाय विभाग सदस्य बन्नुभयो ।

२०७५ सालदेखि २०७८ सालसम्म नेकपाको उद्योग तथा व्यवसाय विभाग सदस्य रहनुभएका आचार्य पाटीमा आन्तरिक विवादसँगै अगाडि बढेका समानान्तर गतिविधि सामेल हुनुभयो । एमाले पार्टीभित्र कास्कीमा समानान्तर गतिविधि अगाडि बढाउन उहाँले नेतृत्व लिनु भयो ।
विसं २०७८ सालामा नेकपा एमाले जिल्ला कमिटि कास्कीको सामानान्तर कमिटिको अध्यक्ष बन्नु भयो ।

एमालेभित्र नेता माधव नेपालले थालेको समानान्तर गतिविधिमा सामेल उहाँ पार्टी विभाजनसँगै स्थापना भएको नेकपा एकिकृत समाजवादीको जिल्ला नेतृत्वमा रहनु भएको छ ।

राजनीति बाहेक उहाँ विभिन्न व्यवसायिक र सामाजिक संस्थाहरुमा पनि अध्यक्ष, संचालक र प्रमोटरका रुपमा आवद्ध रहँदै आउनु भएको छ । उहाँको पाठ्यपुस्तक प्रकाशन गृह, शैक्षिक सामग्री उद्योग, स्कूल कलेज संचालन, रसायनिक मल उद्योग र हाइडेपावर जस्ता व्यवसायिक क्षेत्रमा संलग्नता छ । त्यसैगरी कृषि, पर्यटन, बैकिग र हस्पिटालिटी लगायत २ दर्जन व्यसायिक प्रतिष्ठानमा संग्लन हुनुहुन्छ ।

नेपाल पुस्तक तथा व्यवसायी महासंघको महासचिव र राष्ट्रिय अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघको कार्यकारी सदस्य, उच्च स्तरीय पुस्तक नीति मस्यौदा समितिको विज्ञ सदस्य र पाठ्य पुस्तक मूल्य निर्धारण समितिमा विज्ञ सदस्यका रुपमा उहाँले कार्य गरिसक्नु भएको छ ।
पोखरा महानगरको शिक्षा विज्ञ, लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिस्ट्कि ३२५ बी १को क्याबिनेट सेक्रेटरी र गर्भनर रहनुभएका उहाँ स्व. रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठान पोखराको महासचिव हुनुहुन्छ ।

पढाऔं अभियान नेपालका सुत्राधार उहाँले अर्थतन्त्र, शिक्षा प्रणाली तथा नीतिका सन्दर्भमा दर्जनौ कार्यपत्र प्रस्तुत गर्नुभएको छ । देशका ७५ जिल्लाको अध्ययन भ्रमण गर्नु भएका उहाँले विभिन्न तालिम र अध्ययनका सिलसिलामा विश्वका ४५ देशको भ्रमण गर्नुभएको छ । भरतपोखरीको शान्तिउदय मा.वि. हुँदै शैक्षिक यात्रा सुरु गरेका उहाँले एमबिए र एमएड सम्मको अध्ययन गर्नुभएको छ ।

Comments
Loading...