हिमाली आवाज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अब नेपालमा राजसंस्था पुनःस्थापना हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
पार्टीको गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले राजाप्रति अहिले पनि आफ्नो सम्मान रहेतापनि राजतन्त्र पुनःस्थापनाको ‘च्याप्टर क्लोज’ भएको बताउनुभयो ।राजाले दलहरुसँग छलफल र समन्वय गर्ने तथा विश्वासमा लिने कार्य नगरेकाले पुनःस्थापनाको एजेण्डा कमजोर बनेको थापाले जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो,“राजतन्त्र पुनःस्थापनाको असम्भव एजेण्डा बोकेर कार्यकर्तालाई भ्रममा पार्ने र युवाहरुलाई सपना देखाउनु बेमानी हुन्छ । पार्टी फेल भए, नेता भ्रष्ट भए भनेर राजाले शासन गर्ने व्यवस्था अब संसारमा हुँदैन ।”

अध्यक्ष थापाले राजतन्त्रका पक्षपाति दल तथा नेताहरुलाई अहिले तत्कालै राजतन्त्रको एजेण्डा छोड्न गाह्यो भएपनि ढिलो चाँडो सबै आफ्नै एजेण्डामा आउने दावी गर्नुभयो । राप्रपा नेपालको लोकतन्त्र र संविधानप्रतिको निष्ठा कायमै रहेको उहाँले बताउनुभयो ।
अध्यक्ष थापाले अहिलेको मिश्रित निर्वाचन प्रणालीले विकृति निम्ताएको उल्लेख गर्दै समानुपातिक निर्वाचन प्रणालीलाई अवलम्वन गर्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले भन्नुभयो,“हाम्रो अनुभव र परिवेशले प्रत्यक्ष निर्वाचित प्रणालीले स्थायित्व दिन सकेको छैन । समानुपातिक निर्वाचन प्राणलीको संसारमा विभिन्न मोडल छन्,त्यसमा छलफल गरेर कम भन्दा कम समस्या र विकृति हुने मोडल अवलम्वन गर्नु आवश्यक छ ।”