हिमाली आवाज । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालहरुबाट रगत तथा रगत जन्य पदार्थ निःशुल्क रूपमा उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ ।
सरकारले गत फाुगन १ गतेदेखी प्रदेशका अस्पतालहरुमा रगत निःशुल्क गर्ने निर्णय गरेको थियो ।
अर्थमन्त्री रामजी प्रसाद बरालले बुधबार प्रदेशसभामा सरकारको आगामी वर्ष २०७९÷०८० को बजेट प्रस्तुत गर्दै विरामीहरुको उपचारका लागि अत्यावश्यक रगत प्रदेशभर निःशुल्क गर्नका लागि रु पाँच करोड विनियोजन गरिएको बताउनुभयो ।
रगत निःशुल्क गर्ने कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइएको हो । अर्थमन्त्री बरालले फागुनदेखि प्रति महिना औसतमा तीन हजार २०० युनिटका दरले रगत निःशुल्क उपलब्ध गराइएको बताउनुभयो ।
यसअघि अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरीद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका थिए ।
गण्डकीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगत जन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ बमोजिम बिरामीलाई निःशुल्क रगत उपलव्ध गराइदै आइएको छ ।
प्रदेश सरकारले यसअघि गत मङ्सिर ८ गते पहिलोपटक प्रदेश स्वास्थ्य नीति जारी गरेको थियो । सोही नीतिमा रहेर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरिएको थियो ।
सरकारले रगत निःशुल्क गर्ने कार्यका लागि नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरेको छ । सर्वसाधारणले दान गरेको रगत प्रयोगशाला परीक्षणपछि रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले बिरामीलाई उपलव्ध गराउँदै आएको छ ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा सबैभन्दा बढी रगत खपत हुने गरेको छ ।जिल्ला अस्पतालहरुबाट पोखराका अस्पतालहरुमा बिरामी सिफारिस भएर आउने गरेकाले पनि गम्भिर र जटिल रोगका बिरामीको यहाँ उपचार हुने गरेको छ । गण्डकी प्रदेशमा दैनिक ७० देखी ८० पिन्ट रगतको माग हुने गरेको बताइन्छ ।

