हेमजा गोल्डकप:एपिएफलाई हराउँदै एभिनियर कप सेमिफाइनलमा

हिमाली आवाज । सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ४–१ गोलले हराउँदै अफ्रिकी क्लब एभिनियर हेमजा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हेमजा युनाइटेको आयोजनामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिता अन्तरगतको आज अन्तिम क्वाटरफाइनल खेलमा एपिएफलाई हराउँदै सेमिफाइनलमा चर्च ब्वाइजसंगको भेट पक्का गरेको हो ।

खेलको २७ औं मिनेटमा परिवर्तित खेलाडी सामेसामेले गोल गर्दै एभिनियरलाई अग्रता दिलाउनुभयो । उहाँ गिनीको स्थानमा मैदान प्रवेश गर्नुभएको हो । पहिलो हाफमा थप गरिएको अतिरिक्त समयमा फ्रेडेरिकले उत्कृष्ट गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।

पहिलो हाफमै दुई गोलको अग्रता लिएको अफ्रिकनी टिमले दोस्रो हाफमा समेत दुई गोल गर्दै सहज जित हासिल गरेको हो । एभिनियरका परिवर्तित खेलाडी विल्लेले खेलको ८६ औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर पार्दा जित नजिक पुगेको थियो । उहाँले खेलको ९३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अन्तर फराकिलो बनाउनुभयो ।

एपिएफले खेलमा फर्कने प्रयास गरेपनि सकेन् । दोस्रो हाफमा १० खेलाडीमा सिमित एपिएफका लागि सविन थापाले ९४ औं मिनेटमा एकमात्रै गोल फर्काउनुभयो ।

प्रतियोगिता अन्तरगत भोलि पहिलो सेमिफाइनल खेलमा आयोजक हेम्जा युनाइटेड र खुमलटारबीच हुँदैछ भने विहिबार दोस्रो सेमिफाइनल खेल एभिनियर र चर्च ब्वाइज क्लबबीच हुँदैछ ।

Comments
Loading...