हिमाली आवाज । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको जुन अभिव्यक्ति स्वतन्त्रता छ, व्यक्तिगत स्वतन्त्रता छ त्यसलाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।” कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
दक्षिण एशियामा नै स्वतन्त्र प्रेसको नमुना देशका रुपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्नका लागि सँधै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।
महंगी केबल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य बृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भैरहेको उर्जाको विकासलाई व्यवस्थित गर्दै उत्पादित उर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई कसरी सम्पन्न बनाउने हो त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो । आगामी पुस्तालाई समृद्ध पुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै उहाँले पूाजी निर्माणका लागि लगानी मैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । नीजि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।

अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै उहाँले नेपाल पञ्चशिलको सिद्धान्तलाई आत्मसात गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।
अमेरिकन स्टेट पार्टनरसिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । हामी एक्लै हिडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य रहेको उहाँले बताउनुभयो । भाषणमा मात्र नभै व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेका अवस्थामा १० वर्षमा नेपाल दक्षिण एशियाको धनी मुलुक बन्ने उहाँले बताउनुभयो ।
उक्त अवसरमा दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान – २०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्र सहित एक लाख एक हजार १११ रुपैयाँले सम्मान गर्नुभयो ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताउनुभयो ।
प्रतिभा छनौट समितिका संयोजक एवम् नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशंकर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आँफैंमा महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारितामा निर्भिक रुपमा कलम चलाउने बबिता बस्नेतको सकृयता, योगदान आदिका आधारमा उहाँलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशंकर पालिखे, नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले बोल्नुभएको थियो ।