हिमाली आवाज । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मृगौला प्रत्यारोपण(किड्नी ट्रान्सप्लान्ट) गरिएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान् ५१ वर्षीय पुरुषको मृगौला विशेषज्ञ चिकित्सकको टोलीले चार घण्टाको समय लगाएर सफलतापूर्वक प्रत्यारोपण गरेको हो । अस्पतालले प्रत्यारोपण गरिएका विरामी र मृगौला दिने दुबैको नाम गोप्य राखेको छ ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो प्रत्यारोपण सफल रुपमा सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो ।
उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको मेडिकल टिमले प्रत्यारोपण कार्य गरेको हो ।

यसअघि पोखरा तथा गण्डकी प्रदेशका जिल्लाहरुबाट मृगौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था रहेकामा पोखरामै सेवा सुरु भएपछि विरामीलाई सहज हुने भएको छ ।
निर्देशक खत्रीले भन्नुभयो,“पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलोपटक किड्नी ट्रान्सप्लान्ट गर्न सफल भएका छौँ । अहिले दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । मृगौला लिनेलाई पाँच दिन अस्पतालको आइसीयूमा राखेर उपचार गछौँ, दिने पोष्ट अपरेटिभ कक्षमा स्वास्थ्य लाभ गरिरहनुभएको छ ।”
प्रतिष्ठानलाई गत असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्वन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो ।पहिलोपटक प्रत्यारोपण गरिएको विरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ ।
पोेखरामा मृगौला प्रत्यारोपण हुने भएपछि धेरै विरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई वढाउँदै लैजाने योजना रहेको अस्पताल प्रशासनले जनाएको छ । पोखरामा दैनिक डायलासिस गर्नुपर्ने मृगौलाका विरामी ५०० हाराहारीमा रहेको बताइन्छ ।