पोखराको नगरसभा एमालेद्धारा वहिष्कार, बजेट प्रस्तुत हुन सकेन

हिमाली आवाज । पोखरा महानगरपालिकाको नगरसभा नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले वहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ ।

पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेपनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो ।

एमालेबाट निवर्चाचित नगर सभा सदस्यहरुले सदस्यहरुको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नारावाजी सहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गर्नुभएको छ ।

नेकपा(एमाले)का तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताव नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भएपनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“नगरसभा सदस्यहरुको अधिकार हनन गरेर रातो किताव निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।”
महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा(ड्राफ्ट)मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दावी गर्नुभयो । उहाँले विषयगत समितिमा भएको छलफलको अन्तिम रुप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो,“लिजा (स्थानीय तह स्वमूल्यांकन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताव छापेका छैनौँ ।”

एमालेबाट निर्वाचित सदस्यहरुले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताउनुभयो ।

Comments
Loading...