हिमाली आवाज । भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रु आठ अर्व ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ औँ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास,वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यवसायिक कृषि प्रणालीको प्रवद्र्धनलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
चालू आर्थिक वर्षका लागि महानगरले रु छ अर्व ४१ करोड १० लाख बजेट विनियोजन गरेकामा आगामी वर्षमा रु दुई अर्व ३६ करोड ६५ लाख ५५ हजार बजेट वृद्धि भएको छ ।
बजेटका उद्धेश्य तथा प्राथमिकताहरु पूरा गर्न प्रश्तावित कार्यक्रमका लागि विनियोजन गरिएको बजेटमा सङ्घीय सरकार अनुदान रु दुई अर्व ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्व एक करोड रहेको उपप्रमुख गुरुङले बताउनुभयो ।
यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने बताइन्छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्व ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्व २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्व छ करोड ९२ लाख, शिक्षामा रु एक अर्व ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको उपप्रमुख गुरुङले बताउनुभयो।
महानगरले पोखरा गौरवका आयोजना कार्यान्वयनका लागि रु ६५ करोड बजेट विनियोजन गरेको छ । पर्यटकीय पोखरालाई सुन्दर र पूर्वाधारयुक्त विकसित पर्यटनस्थलमा विकास गर्न मुख्य मुख्य स्थान र लेकसाइडको सौन्दर्यकराण्, सुविधा सहितको ल्याण्डफिल साइट निर्माण, अटो भिलेज, पोखरा चक्रपथ, एयरपोर्टदेखी लेकसाइड फास्टट्रयाक, ट्राफिक व्यवस्थापन, पेवा हर्वल ट्रेक, ढल व्यवस्थापन लगायतका योजनालाई पोखरा गौरवका योजनामा राखेको छ ।
महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभुत स्वास्थ्य सेवा प्रदान गर्नका लागि रु १२ करोड ८८ लाख बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।यसैगरी चालू वर्ष निर्माण सुरु भएका विभिन्न १५ वटा कनेक्टिङ सडक, १० वटा शहरी सडक तथा १५ वटा ग्रामीण सडकहरुलाई क्रमागत र बहुवर्षीय योजनामा समावेश गरी रु ५५ करोड बजेट विनियोजन गरिएको छ ।
महागनरको शहरी क्षेत्रभित्र खाल्डा रहित सडक बनाउने अभियान अन्तगृत मुख्य सडकहरु अस्फाल्ट र शाखा शहरी सडक एवं कालोपत्र भएका सडकहरुको रिसिलिङ्गका लागि रु १५ करोड रकम व्यवस्था गरिएको छ ।यसैगरी तालचोक बेगनास खण्डको तीन किमी सडक चार लेन, दुईतर्फी साइकल लेन र हरियाली जोेन सहितको पैदल ट्रायक निर्माण आयोजनाका लागि ३० करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ केन्द्रहरु निजी क्षेत्र समेतको सहकार्यमा स्थापना गर्न रु सात करोड बजेट व्यवस्था गरिएको छ ।महानगर क्षेत्र भित्रका नदीघाटहरुको संरक्षण, सम्वद्र्धन र नदी नियन्त्रण कार्यक्रमका लागि रु दुई करोड बजेट विनियोजन गरिएको छ । महानगरमा आकस्मिक सेवा व्यवस्थापनका लागि रु पाँच करोड छुट्टाइएको छ । यसैगरी महानगरका सबै वडाहरुमा एक वडा, एक स्मार्ट शौचालय बनाउने नीति कार्यान्वयनका लागि रु पाँच करोड विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो ।
यसअघि पोखरा सभागृहमा साँझ ४ः०० बजे बजेट कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेपनि सभा सुरु भएलगत्तै सभामा बजेट प्रस्तुत नहुँदै रातो किताव छापिएको भन्दै एमालेबाट निर्वाचित सदस्यहरुले विरोध गरेपछि स्थगन भएको थियो ।
रातो कितावका सम्वन्धमा छानविन गर्ने सहमतिपछि साँझ ७ः०० बजे सभा पुनः सुरु भएर उपप्रमुख गुरुङले बजेट कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।


