पोखरामा छ वटै महानगरका प्रमुख र प्रशासकीय अधिकृतको भेला

हिमाली आवाज। देशका छ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेलाको आयोजना गरिएको हो ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसंगको सम्बन्ध महानगरपालिका प्रमुखहरु बीच अनुभव आदानप्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हामीले साउनको पहिलो हप्ता पोखरामा छ वटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला आयोजना गरेका छौं । एउटा बाहेक सबै महानगरमा हामीले निम्तो पठाइसकेका छौं । सबै आउने निश्चित भइसकेको छ ।”

भेलाले महानगर बीच अनुभव आदानप्रदानमा सहयोग पुग्ने र विकास निर्माण लगायत सङ्घ र प्रदेश सरकारसंगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिनुभयो ।यसैबीच पोखरा महानगरका प्रमुख आचार्य र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच भेटवार्ता भएको छ । काठमाडौं महानगरपालिका कार्यालयमा मंगलबार उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटका अवसरमा बजेट निर्माण, राजश्व सङ्कलन तथा अन्य समसामयिक बिषयमा छलफल भएको बताइन्छ । प्रमुख आचार्यले मंगलबारनै काठमाडौंमा राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महाबीर पुनसंग पनि भेटवार्ता गर्नुभएको छ ।

आविस्कार केन्द्रमा आविस्कार भएका सामग्रीहरु पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
“आविस्कार केन्द्रका अध्यक्ष महाविर पुनसंगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौं । महानगरको हित हुने उपकरणको विषयमा जानकारी दिनुस् भनेका छौं । उहाँले पनि निकै रचनात्मक सुझाव र जानकारी दिनुभएको छ । जो पोखरा महानगरका लागि निकै उपयोगी हुन सक्छ भन्ने लागेको छ । पछि पुन बसेर बिस्तिृत सल्लाह गर्ने कुरा भएको छ ।” प्रमुख आचार्यले भन्नुभयो ।

Comments
Loading...