गण्डकीका अर्थमन्त्रीलाई मन्त्रीकै धम्की !

हिमाली आवाज । आगामी आर्थिक वर्षको बजेटमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई लिएर विवादमा फसेको गण्डकी प्रदेश सरकारका मन्त्रीहरुकै बीचमा मनमुटाव सुरु भएको छ ।

बजेट विवादलाई छलफलका माध्यमबाट समाधानको प्रयास भईरहेका बेला हिजो –बिहीबार) साँझ अर्थमन्त्री रामजी प्रसाद बराललाई  शिक्षा संस्कृति तथा विज्ञान प्रविधिमन्त्री मेखलाल श्रेष्ठले मुख्यमन्त्रीकै अगाडि धम्की दिएपछि बजेटमा बनाउन खोजिएको सहमतिको वातावरण झन् विथोलिएको छ ।

शिक्षामन्त्रीले आफ्ना योजना बजेटमा समावेश नगरेको भन्दै अर्थमन्त्रीलाई जे पनि गर्न सक्छुु भनेर धम्की दिएपछि बजेट माथिको छलफल थप अनिश्चिततातर्फ धकेलिएको छ । अर्थमन्त्री बरालले आफूलाई शिक्षामन्त्रीबाट धम्की आएकाले असुरक्षित महशुस गरेको बताउनुभएको छ । मुख्यमन्त्रीकै अगाडि धम्की दिँदा समेत मुख्यमन्त्रीले कुनै प्रतिक्रिया नदिँदा अर्थमन्त्री मुख्यमन्त्री निवासबाट बाहिरिनुभएको बताइन्छ ।

“मैले भनेका योजना परेनन् भने जे पनि गर्न सक्छु भन्दै धम्क्याउनुभएपछि अर्थमन्त्री मुख्यमन्त्री निवासबाट निस्कनुभयो । त्यसपछि थप छलफल हुन सकेन ।” अर्थमन्त्री सचिवालयले स्रोतले भन्यो,“ व्यक्तिगत नाम जोडिएका केही योजना काट्ने भन्दा केही काटिएको भए त्यसलाई म अर्थ विविधिबाट व्यवस्थापन गर्छु भन्दा भन्दै पनि धम्की दिएपछि अर्थमन्त्रीले असुरक्षित महसुस गर्नुभएको छ ।” धम्कीका सम्वन्धमा शिक्षामन्त्री श्रेष्ठसँग हिमाली आवाजले सम्पर्क गर्दा उहाँको फोन उठेन ।

शिक्षामन्त्रीले धम्की दिएपछि वातावरण सहज बनाउन काँग्रेसका केही मन्त्रीहरुले शुक्रबार विहान निवासमै आएर छलफल गर्नुभएको बताइन्छ ।

व्यक्तिगत नाम जोडिएको विभागीय मन्त्रालयभन्दा बाहिरका र केही दोहोरो परेका योजना काटिएको हुन सक्ने भएपनि  मन्त्रालयहरुलाई दिइएको सिलिङ भन्दा बाहिरका कुनै पनि योजना बजेटमा नकाटिएको अर्थमन्त्रालयले जनाएको छ ।

सांसदले प्रत्यक्ष योजना छनोट गर्न पाउने पूर्वाधार विकास कार्यक्रम अर्थमन्त्रीले आगामी बजेटमा नराखेपछि गण्डकीमा सत्ता र प्रतिपक्ष दुबै पक्षका सांसदहरुले विरोध गरेका छन् । सोही विवादका कारण बजेट छलफल हुन सकेको छैन ।

बजेट छलफल सुरु नभएपछि केही दिनअघि प्रमुख प्रतिपक्षी नेकपा(एमाले)ले पत्रकार सम्मेलन गरी सरकारले राजीनामा दिनुपर्ने माग गरेको थियो ।

Comments
Loading...