पोखरा स्पोर्टस् अवार्डमा अरुणा र प्रदीपलाई वर्ष उत्कृष्ट खेलाडीको उपाधि

हिमाली आवाज । पोखरामा आज साँझ सम्पन्न छैटौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड–२०७८’ अन्तर्गत वर्ष उत्कृष्ट खेलाडीको उपाधि महिलातर्फ भलिबलका अरुणा शाही र पुरुषतर्फ टेनिसका प्रदीप खड्काले जित्न सफल हुनुभएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सञ्चालन भएको अवार्डमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीका कप्तान समेत रहनुभएका शाही महिलातर्फ वर्ष उत्कृष्ट खेलाडी घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नुभयो ।

car ads

यसैगरी टेनिसका खड्काले पुरुषतर्फ मनोनयनमा पर्नुभएका ब्याडमिन्टनका विधान अधिकारी र करातेका बुद्ध लामालाई पछि पार्दै उत्कृष्ट खेलाडी घोषित भई उहाँले पनि उपाधि सहित एक थान इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नुभयो ।

‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराई सम्मानित हुनुभयो । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उहाँलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाबाट सम्मान गर्नुभयो ।

उदीयमान खेलाडीको अवार्ड टेनिसका दर्शिल श्रेष्ठले हासिल गर्नुभयो । उत्कृष्ट प्रशिक्षक टेनिसका निरज थापा, उत्कृष्ट खेल सङ्घको अवार्ड गण्डकी प्रदेश तेक्वान्दो सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधाको उपाधि पत्रकार दीपक परियारले प्राप्त गर्नुभयो । उत्कृष्ट सबैजनालाई जनही रु ३५ हजार र ट्रफी प्रदान गरिएको थियो ।

टिप्पणिहरु
Loading...