पोखरा खानेपानी सुधार आयोजना:हट्दैछ धमिलो पानी पिउनुपर्ने बाध्यता

–कृष्ण दवाडी
हिमाली आवाज । राजधानी काठमाडौँको मेलम्ची खानेपानी आयोजना पछिको ठूलो हो पोखरा खानेपानी सुधार आयोजना । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)को रु पाँच अर्व अनुदान सहयोगमा यस आयोजना विसं २०७६ देखी पोखरामा शुरु भएकामा अहिले काम अन्तिम चरणमा पुगेको छ ।

पोखरेलीहरुले सिधै धाराबाट धापेर पिउन मिल्ने गरी पानी सफा बनाउने लक्ष्य राखिएको आयोजनाको हाल ८५ प्रतिशत काम सकिएको छ । आयोजना सम्पन्न हुने चरणमा पुग्नै लाग्दा अप्रशोधित धमिलो पानी पिउनु पर्ने बाध्यता समेत अन्त्य हुँदैछ ।पोखरेलीको खानेपानीको प्रमुख स्रोत मर्दीखोलाबाट ल्याइएको पानी हाल प्रशोधन नगरिकन धारामा पठाउने गरिएकामा आयोजनाको लक्ष्य मुहानबाटै शुद्धीकरण गरेर सिधै धाराबाट पिउने योग्य बनाउने रहेको छ ।

गण्डकी प्रदेशको राजधानी शहर पोखराका आधाभन्दा बढी जनसङ्ख्या यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । आयोजनाको पाइप लाइन विस्तार र एउटा ‘रिजर्भवायर ट्याङकी’ र मुहानमा केही काम मात्र बाँकी रहेको बताइन्छ ।जाइकाको अनुदान सहयोग र नेपाल सरकारको ऋण लगानीमा खानेपानी संस्थानले आयोजना कार्यान्वयन गरिरहेको आयोजना निर्माणको काम जापानको हाज्मा एण्ड कर्पोरेशनले गरिरहेको छ । प्राविधिक समस्या समाधान भएको अवस्थामा आगामी छ महिनाभित्रमा आयोजना सम्पन्न भइसक्ने पोखरा खानेपानी सुधार आयोजनाले जनाएको छ ।

आयोजनाका इन्जिनियर सन्तोषकुमार दासले काम अन्तिम चरणमा पुगेको र बजारका केही स्थानमा पाइप लाइन विस्तारमा समस्या देखिएको बताउनुभयो । उहाँले भन्नुभयो,“पाइप लाइन विस्तारका क्रममा केही ठाउँमा नयाँ पिच र अस्फाल्ट कालोपत्रे सडक खन्नुपर्ने हुन्छ, महानगर र सडक कार्यालयबाट सडक खन्ने अनुमति नपाउँदा ढिलाई भएको छ । कोलपाटनमा एयरपोर्ट नजिकको रिजर्भवायर ट्याङ्कीको काम समेत अहिले अघि बढ्न सकेको छैन ।”

आयोजनाको हालसम्म मर्दी मुहानमा ‘ग्रिड च्याम्बर’, ‘सेडिमेन्टेशन ट्याङ्की’ र ‘स्लो स्याण्ड फिल्टर’को ९५ प्रतिशत काम सकिएको छ । पोखरा भित्रका तीन वटा ठूला रिजर्भवायर ट्याङ्की मध्ये फूलबारी र मालेपाटनको सकिएको छ ।इन्जिनियर दासका अनुसार ‘रिजर्भवायर ट्याङ्की’को कोलपाटनको काम प्राविधिक समस्याका कारण रोकिएको हो । अन्तर्राष्ट्रिय विमानस्थलसँगैको सो ट्याङकीको उचाइका कारण एयरपोर्ट सञ्चालनमा प्राविधिक समस्या आउन सक्ने अनुमान कारण रोकिएको हो ।

यसलाई अन्यत्र स्थानान्तरण गर्ने भन्ने बारेमा जाइका र नेपाल सरकारले निर्णय गरिसकेका छैनन् । यसैगरी बजार क्षेत्रमा १०० किमी पाइप लाइन विस्तारको काम मध्ये अब १५÷१६ किमी मात्र बाँकी छ ।

उहाँले भन्नुभयो,“केही प्राविधिक समस्याले रोकिएको बाहेक आयोजनाका अन्य काम अन्तिम चरणमा छन् । आयोजना सम्पन्न भएपछि वितरण प्रणालीमा सुधार हुनेछ र शुद्ध पानी उपभोक्ताकामा पुग्नेछ, प्राविधिक समस्या समाधान लगत्तै आयोजना सम्पन्न हुन पाँच÷छ महिना समय लाग्छ ।”

आयोजना सम्पन्न भएपछि आयोजनाले समेटेको क्षेत्रमा राष्ट्रिय खानेपानी गुणस्तर अनुसारको प्रशोधित पानी उपलव्ध हुने खानेपानी संस्थानले जनाएको छ । पोखरा महानगरका चार लाख पाँच हजार ८८९ जनसङ्ख्या आयोजनाबाट लाभान्वित हुने अनुमान गरिएको छ ।

हाल साविक पोखरा उपमहानगरपालिकाका १७ वडा र मुख्य पोखराको क्षेत्रमा मर्दी खोलाबाट ल्याइएको पानी वितरण हुँदै आएको छ । मर्दी मुहानबाट २० र १६ इन्चका पाईपमार्फत पोखरामा पानी वितरण हुन्छ । पोखराको ८० प्रतिशत उपभोक्ताकामा मर्दीको पानी वितरण हुन्छ ।
सन् २०१७ को फेब्रुअरी १५ तारिखमा सरकार र जाइकाबीच खानेपानी सुधार आयोजना सम्बन्धी सम्झौता भएको थियो । सम्झौतापछि विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजना सहित काम अघि बढेको थियो ।
यसरी सफा बनाइने छ पानी

खानेपानी सुधार आयोजना अन्तर्गत मर्दीखोलाको पानी यसको मुहान र पोखरा–१९ पुुरुनचौरको ट्रिटमेन्ट प्लान्टमा आवश्यक प्रक्रियामा अपनाएर प्रशोधन गरिनेछ । प्रशोधित पानी त्यहाँबाट पोखरा–२ मिरुवामा रहेको संस्थानको ट्याङ्कीमा जडान गरिनेछ ।

पानी सफा बनाउन मुहान नजिक ‘ग्रीट च्याम्बर’ र दैनिक चार करोड २० लाख लिटर प्रशोधन क्षमताको ‘सेडिमेन्टेशन ट्याङकी’(ढुँगा, बालुवा हटाउने पोखरी) निर्माणको काम सकिनै लागेको छ । मुहानको सेडिमेन्टेशन पोखरीबाट प्रशोधित पानी दुई किमी टाढाको पुरुनचौरमा निर्माणाधीन ‘स्लोस स्याण्ड फिल्टर’मा लगिनेछ ।

त्यहाँ पानी थप प्रशोधनका लागि चार वटा पानी थिग्ग्राउने ट्याङ्की तथा छ वटा पानी छान्ने फिल्टर, दुई वटा सफा पानी सङ्कलन गर्ने ट्याङ्की(स्लोस स्याण्ड फिल्टर) र क्लोरिनेसन प्लान्ट निर्माण गरिएको छ ।सफा पानी वितरणका लागि आयोजनाले फूलबारी, कोलपाटन र प्रस्याङमा २० लाख लिटर क्षमताका रिजर्भवायर ट्याङकी निर्माण गरेको हो । खानेपानी संस्थानका अनुसार पोखरामा संस्थानका ४७ हजार ग्राहक छन् । ती मध्ये मर्दीखोलाको पानी प्रयोग गर्ने ३५ हजार छन् । यसैगरी कालिखोला र भोटीखोलाका पाँच÷पाँच हजार ग्राहक छन् । दुई हजार घरमा बोरिङको पानी पु¥याइएको छ ।

मुहान संरक्षणमा अझै उदासिनता
पोखरामा ल्याइने पानी शुद्धीकरण गर्ने योजना कार्यान्वयन भइरहँदा मुहानको संरक्षणमा भने अझै उदासिनता देखिन्छ ।
अहिलेपनि मुहानभन्दा माथि खोलाबाटै सवारी साधनको वारपार, भैँसी आहाल बस्ने तथा फोहोरमैला विर्सजन हुँदै आएको छ । हिउँदमा नदीजन्य पदार्थको उत्खनन्का कारण मुहान प्रदुषित हुने गरेको छ ।

पोखरामा आपूर्ति भएको पानी सफा राखिराख्नका लागि अहिलेको स्थानबाट पाँच किमी माथि मुहान सार्नुपर्ने आवाज उपभोक्ताको छ । हालको खानेपानीको मुहानलाई माथि स्थानान्तरण गर्दा पानी सफा बनाउन थप सहयोग पुग्ने बताइन्छ ।विगतमा अहिलेको मुहानभन्दा माथि थोरै मात्र वस्ती थियो । पछिल्लो समय तीव्र शहरीकरणका कारण मानव वसोबास बढेसँगै मुहान दुषित हुने समस्या पनि बढ्दै छ ।

पोखरा उद्योग बाणिज्य सङ्घको अग्रसरतामा केही वर्ष अघि मुहान सफा राख्नका लागि विभिन्न छ स्थानमा शवदहनगृह निर्माण गरिएपनि ती स्थलको अहिले पनि सवै ठाउँमा प्रयोग गरिएको छ ।शवदहनस्थल निर्माणमा नेतृत्व गर्नुभएका उद्योगी यदुनाथ अधिकारी खानेपानीको हालको मुहान त्यसभन्दा माथि नर्सादासम्म पोखराको पानी शुद्ध हुन नसक्ने बताउनुहुन्छ । हाल कम मात्र मानव बसोबास भएको स्थानबाट पानी ल्याउँदा मात्र सफा पानी उपभोक्ताले प्राप्त गर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो,“हालको मुहान स्थानान्तरणका लागि हामीले पटक पटक आवाज उठाएका छौँ तर सुनुवाई भएको छैन । शुद्ध पानी पोखरामा आपूर्तिका लागि मुहाननै सार्नुको विकल्प छैन ।”

खानेपानी संस्थानले भने प्राविधिक हिसावले कठिनाई नपर्ने भएपनि जलाधार क्षेत्र कम हुने भएकाले स्थानान्तरणको काम नभएको जनाएको छ । मुहानभन्दा केही माथिमात्र इदी खोला मर्दीमा मिसिन्छ । सोही कारण पानी आपूर्ति कम हुने भएकाले मुहान सार्न नसकिएको संस्थानले जनाएको छ ।
गाउँपालिकाले माग्यो वातावरणीय सेवाको भुक्तानी
मर्दी खोला माछापुच्छ«े गाउँपालिकाका छ वडा हुँदै बग्छ । मर्दीखोलाको पानी दुई वटा पाइप मार्फत खानेपानी संस्थानले पोखरामा वितरण गर्ने गरेको छ । मर्दीको पानी पोखराको विन्ध्यवासिनी मन्दिर नजिकको रिजर्भ वायरमा जम्मा गरेर उपभोक्तामा पठाइन्छ ।

गाउँपालिकाले आफ्नो  क्षेत्रभित्रको प्राकृतिक सम्पदा मर्दीको उपभोग गरे बापत खानेपानी संस्थानसँग वातावरणीय सेवाको भुक्तानी सिद्धान्त अवलम्वन गर्न माग गरेको छ । संस्थानले मर्दी खोलाको पानीबाट वर्षेनी अरवौँ राजश्व संकलन गरेपनि मर्दी क्षेत्रको विकासमा ध्यान नदिएको भन्दै आगामी वर्षको नीति कार्यक्रममा सो सिद्धान्त लागू हुुनुपर्ने माग गरेको हो ।

पानी प्रयोग बापत निश्चित प्रतिशत राजश्व गाउँपालिकाले पाउनुपर्ने माग स्थानीय सरकारको रहेको गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो,“हाम्रो पालिकाको प्रमुख प्राकृतिक स्रोतको उपभोग गरे बापत खानेपानी संस्थानले प्रभावित क्षेत्रका लागि सहयोग गरोस् भन्ने हाम्रो माग हो । वातावरणीय सेवाको भुक्तानीको सिद्धान्त विश्वका धेरै देशमा प्रचलित छ । संस्थानले आम्दानीको निश्चित प्रतिशत पालिकालाई दिनुपर्दछ । ”यसअघि पनि यस विषयमा आवाज उठेपनि यसपटक गाउँपालिकाले आफ्नो नीति कार्यक्रममै यस विषयलाई समेटेको छ ।

पारिस्थितिकीय प्रणाली कायम गरे बापत त्यसबाट पाउने विभिन्न लाभहरुको आर्थिक मूल्याकंन गरि त्यसमा योगदान पु¥याउने समुदायलाई मौद्रिक वा अन्य हिसाबले भुक्तानी दिइने अभ्यासलाई वातावरणीय सेवाको भुक्तानीको रुपमा बुझिने गरिएको छ ।

Comments
Loading...