राष्ट्रिय भूमि आयोगसँग कास्कीका तीन पालिकाको सम्झौता

हिमाली आवाज । भूमिहीन दलित,भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानका लागि कास्कीका तीन पालिकाले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् ।

जिल्लाका रुपा, मादी र माछापुच्छ«े गाउँपालिकाका अध्यक्षहरुले आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलासँग पोखरामा सम्झौता गर्नुभएको हो । सम्झौतासँगै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण तथा नाप नक्साको काम सुरु हुने भएको छ ।

पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकाले भने यसअघिनै सम्झौता गरिसकेको राष्ट्रिय भूमि आयोग कास्कीका प्रवक्ता गिरीप्रसाद गुरुङले बताउनुभयो ।

पालिकाहरुमा अब भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन, कम्प्युटर दर्ता र पुरानो आयोगले गरेका कामको निवेदन लिने र दावी विरोध सहितको सूचना प्रकाशन लगायतका काम अघि बढाइने आयोगका जिल्ला अध्यक्ष गङ्गाप्रसाद पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार वडामा लगत सङ्कलन, प्रमाणिकरण, वडाबाट पालिकालाई सिफारिस र पालिकाले प्रमाणित गरी आयोगमा रेकर्ड पठाउने सहित सुकुम्वासीलाई जग्गा प्रवन्धका लागि सहजीकरण गर्नेछन् ।

उहाँले भन्नुभयो,“कास्की पाँच वटै पालिकासँग भूमिहीनको समस्या समाधान गर्ने कार्यका लागि सम्झौता भएको छ । यससँगै आयोगले अब स्थानीय सरकारसँगको सहकार्यमा भूमिहीनको समस्या समाधान गरेर निस्सा वितरणसम्मको आफ्नो कामलाई अघि बढाउन सहज भएको छ ।”

राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा वितरण र अव्यवस्थित बसोबासीको व्यवस्थापनको कार्यलाई समन्वयात्मक रुपमा प्रभावकारी ढंगबाट सम्पन्न गर्न स्थानीय तहसँग कार्य सहमति पत्रमा हस्ताक्षर गरी कार्य प्रारम्भ गर्नुपर्ने व्यवस्था छ ।

सरकारले भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलव्ध गराउने उद्धेश्यले गत वर्ष राष्ट्रिय भूमि आयोग गठन गरेको थियो । आयोगको कामलाई प्रभावकारी बनाउन  जिल्लाहरुमा पनि आयोगका अध्यक्ष लगायतका पदाधिकारी नियुक्त गरी कार्यालय सञ्चालनमा ल्याइएको छ ।

Comments
Loading...