बाग्लुङ च्याम्पियन बन्दै राष्ट्रपति रनिङ शिल्डको उपाधि उचाल्यो

हिमाली आवाज । पोखरामा असार २३ गतेदेखी सञ्चालन भएको गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि बाग्लुङले जितेको छ ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पोखरा रङ्गशालामा आज सम्पन्न प्रतियोगितामा समग्रमा १० स्वर्ण, १३ रजत र चार कास्यपदक सहित बाग्लुङले उपाधि सहित रनिङ शिल्ड सहित र नगद रु ३० हजार पुरस्कार पायो ।

बागलुङले उशुमा तीन स्वर्ण र दुई रजत, कराँतेमा एक स्वर्ण, दुई रजत र दुई कास्य, तेक्वान्दोमा तीन स्वर्ण र तीन रजत, एथलेटिक्समा दुई स्वर्ण चार रजत एक कास्य, भलिबल छात्र तर्फ एक कास्य र कबड्डी छात्रतर्फ एक स्वर्ण पदक प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा नवलपुरले द्धितीय स्थान प्राप्त गरेको छ । नवलपुरले नौ स्वर्ण र छ रजत पद सहित उपविजेता बन्दा स्याङ्जाले छ स्वर्ण दुई रजत र दुई कास्य पदक तृतीय स्थान हासिल गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले जानकारी दिनुभयो । द्धितीय र तृतीय हुन सफल जिल्लाहरुले क्रमशः रु २० हजार १० नगद पुरस्कार प्राप्त गरे ।

उपविजेता नवलपुरले एथलेटिक्स खेलतर्फ नौ स्वर्ण चार रजत र पाँच कास्य पदक, कराँतेमा एक रजत, तेक्वान्दोमा एक रजत र एक कास्य तथा कबड्डी छात्रातर्फ एक कास्य पदक प्राप्त गरेको थियो ।

यसैगरी स्याङ्जाले एथलेटिक्समा पाँच स्वर्ण, दुई रजत र एक कास्य, कराँतेमा एक कास्य तथा भलिबल छात्र÷छात्रा तर्फ एक÷एक स्वर्ण प्राप्त गर्न सफल भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दीपक मनाङे), प्रदेश नीति तथा योजना आयोगका सदस्य डा.सुवास अधिकारी, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, भूतपुर्व खेलाडी मञ्चका अध्यक्ष हरि प्रसाद पराजुली, अग्रज खेलाडी खड्ग बहादुर रानाभाट लगायतले ट्रफी, मेडल, नगद र प्रमाणपत्र वितरण गर्नुभयो ।

Comments
Loading...