हिमाली आवाज । पोखरा महानगरपालिकाको आज बसेको नगरसभाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रु आठ अर्व ७७ करोड ७५ लाख ५५ हजार बराबरको बजेट पारित गरेको छ ।
गत असार १० गते उपप्रमुख मञ्जुदेवी गुरुङले ११ औँ नगरसभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रम सभामा छलफलपछि सर्वसम्मत पारित गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।महानगरपालिकाले आगामी वर्ष चालू वर्षको भन्दा रु दुई अर्ब ३६ करोड ६५ लाख ५५ हजार बढी बजेट ल्याएको छ । चालू आवमा महानगरको बजेट रु छ अर्व ४१ करोड १० लाख थियो ।
यसैगरी नगरसभाले न्यायिक समिति, लेखा समिति र विधायन समिति गठन गरेको छ । न्यायिक समितिको संयोजक महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको संयोजकत्वमा भावना श्रेष्ठ र कालिदाश पोखरेल सदस्य रहनुभएको छ ।लेखासमितिको संयोजकमा झपटबहादुर रानाभाट र सदस्यमा विष्णुमणि बराल, बलराम पौडेल, रामजी पौडेल र दुर्गा थापा सदस्यमा चयन हुनुभएको छ ।
विधायन समिति संयोजकमा पुष्पेन्द्र पाण्डे तथा सदस्यमा राममोहन आचार्य, प्रेम प्रसाद कर्माचार्य, निर्मल दियाली र गंगाबहादुर खत्री चयन हुनुभएको छ ।नगरसभाले पोखरा महानगरपालिका आकस्मिक कोष स्थापना तथा सञ्चालन ऐन २०७९, आर्थिक ऐन २०७९ र विनियोजन ऐन २०७९ सर्वसम्मत पारित गरेको छ । यसैगरी पोखरा महानगरको मध्यमकालिन खर्च संरचना (२०७९÷८०–०८१÷८२) पारित गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
महानगरको आगामी बजेटका स्रोतहरुमा सङ्घीय सरकार अनुदान रु दुई अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी रु तीन अर्व एक करोड रहेको रहेको छ ।यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट रु ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने रु दुई अर्व ४० करोड ८१ लाख बजेट चालू आवको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने महानगरले जनाएको छ ।
बजेटमा पूर्वाधार विकासतर्फ रु चार अर्ब ५३ करोड ६२ लाख, नगर कार्यपालिका कार्यालयतर्फ रु एक अर्ब २५ करोड ८७ लाख, सामाजिक विकासमा रु दुई अर्ब छ करोड ९२ लाख, शिक्षामा रु एक अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ रु ५० करोड पाँच लाख, कृषितर्फ रु १६ करोड ७३ लाख ६५ हजार र वडा कार्यालयतर्फ रु ७२ करोड ६० लाख छुट्टाइएको छ ।

