पोखराका मेयर आचार्य पर्यटन मन्त्रालयको विषयगत समितिमा

हिमाली आवाज । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा सदस्य तोकिनुभएको छ ।मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उहाँ देशभरका ७५३ स्थानीय तहको तर्फबाट सदस्य तोकिनुभएको बताइन्छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षता रहने समितिमा सात वटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ ।

प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) (ग) बमोजिमको स्थानीय तह तर्फको विषयगत समितिको सदस्य पदमा नेपाल सरकार (माननीय मन्त्री स्तरीय) को यही साउन १ गतेको निर्णय अनुसार बुधबार सदस्य तोकिएको हो ।

पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारीमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पोखराका प्रमुख आचार्यलाई विषयगत समिति सदस्य तोक्नुले पर्यटकीय सहर पोखरालाई महत्व दिएको मानिएको छ ।
प्रमुख आचार्यले देशभरका स्थानीय तह मध्येबाट पोखरा महानगरको मेयरलाई नियुक्त गरिनुले पर्यटकीय सहर पोखरा र पोखराबासीको अपनत्व लिएकोे बताउनुभयो ।

उहाँले पर्यटन मन्त्रालय र मन्त्री प्रति आभार प्रकट गर्दै पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गरिने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो,“हामीले पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि निर्णय गरेर ताकेता गरिरहेका छौं ।

सङ्घीय पर्यटनमन्त्री ज्यूले यसको प्रक्रिया आगाडि बढाएको र क्याबिनेटमा लैजाने पनि जानकारी दिइसक्नुभएको छ । मन्त्रालयको विषयगत समितिमा पनि देशभरका स्थानीय तह मध्येवाट पोखरालाई प्राथमिकता दिनुले यहाँको पर्यटकीय महत्व उहाँले पक्कै बुझ्नुभएको छ भन्ने लाग्छ । ”

Comments
Loading...