हिमाली आवाज । पोखरा महानगरपालिकाका युवाहरुलाई लक्षित गरेर युवा तथा साना व्यवसायी स्वरोजगार कोष सञ्चालन गरिने भएको छ । सो कोषमार्फत पोखराका ७५० युवालाई स्वरोजगार बनाइने लक्ष्य राखिएको छ ।
महानगरपालिकाले चालू आर्थिक वर्षको बजेट कार्यक्रम मार्फत सो कोषमा रु पाँच करोड विनियोजन गरेकामा युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंङ्कको तर्फबाट समेत रु पाँच÷पाँच करोड का दरले लगानी गरी रु १५ करोडको कोष मार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
सो कोष सञ्चालन गर्न त्रिपक्षीय सम्झौताका लागि सैद्धान्तिक सहमति जुटेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल र महानगरका प्रमुख आचार्यबीच कोष मार्फत कार्यक्रम छिट्टै आगडि बढाउने सैद्धान्तिक सहमति भएको भएको बताइन्छ ।

कोष मार्फत कृषि क्षेत्रमा लागेका युवा उद्यमीलाई प्राथमिकता दिइने र लगानी गरिने प्रमुख आचार्यले बताउनुभयो ।कृषि उद्यमको माध्यमबाट रोजगारी समेत अभिवृद्धि हुने विश्वास लिइएको छ ।महानगर प्रमुख आचार्यले भन्नुभयो,“हालै युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक र मुक्तिनाथ विकास बैंङ्कका प्रमुख कार्यकारी अधिकृतसँग बसेर कृषि उद्यम लक्षित गर्दै स्वरोजगार कोष मार्फत युवाहरुलाई प्रोत्साहन गर्ने सम्बन्धमा हाम्रो सहमति भएको छ ।
यसमा हामी तीन वटै पक्षले बराबर रकम जग्मा गर्ने छौं र बैंङ्क मार्फत नै यसलाई अगाडि बढाउने योजनामा छौं । खासगरी कृषि क्षेत्रमा केही गर्न चाहने युवालाई लक्षित गरेर महानगरमा रोजगार अभिबृद्धि गर्ने पनि हाम्रो चाहना हो ।”
युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक अधिकारीले अगामी चार वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाउने उद्देश्यका साथ आफूहरु अगाडि बढेको बताउनभुयो । उहाँले भन्नुभयो,“यो कार्यक्रम मार्फत न्युन वर्ग र बेरोजगार युवालार्ई समेट्ने योजना छ ।
कोष अगाडि बढाउनका लागि अब औपचारिक सम्झौता गर्ने तयारीमा छौँ ।” अधिकारीका अनुसार यो कार्यक्रम सम्झौता भएर कार्यान्वयनमा जान कम्तिमा एक महिना समय लाग्ने छ ।