हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं योङ्ग कम्युनिष्ट लिग(वाइसियल)का केन्द्रीय संयोजक सुमन देवकोटाले माओवादी केन्द्र देशको निर्णायक र बलियो स्थायी शक्ति रहेको बताउनुभएको छ ।
वाइसियल गण्डकी प्रदेश समितिको पूर्ण बैठकलाई आज पोखरामा सम्वोधन गर्दै उहाँले गत स्थानीय तहको निर्वाचन परिणामले पनि माओवादीलाई देशको निर्णायक शक्तिमा स्थापित गरेको र माओवादीले चाहे अनुसार देशलाई अघि बढाउन सक्ने सामर्थ राख्ने स्पष्ट पार्नुभयो ।
संयोजक देवकोटाले वर्तमान सत्तारूढ गठबन्धन भित्र पनि प्रतिगामी शक्तिसंग अघोषित मिलन भएको आशङ्का रहेको भन्दै भन्नुभयो,“वाईसियल नेपालले गठबन्धन भित्रका अंहकारी र प्रतिगामी शक्तिसंग स्वर मिलाउने प्रतिगामीका मतियारहरुलाई बाँकी छाड्दैन । प्रतिगामीसँग मिल्नेहरु देशभक्त हुन सक्दैनन् । ”
नेता देवकोटाले राष्ट्रियताका बारेमा युवाहरूमा जागरण आवश्यक रहेको बताउनुभयो । उहाँले रचानात्मक कार्यक्रम अन्तरगत वित्तिय साक्षरताको कार्यक्रम अभियानका रूपमा चलाउने निर्णय गरिएको र विपत ब्यवस्थापनको तालिम आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेकपा माओवादी केन्द्रीय सदस्य तथा वाइसियल नेपाल सह–संयोजक सुवोधराज सेर्पालीले दोस्रो राष्ट्रिय भेला सहमतिय प्रणालीको विधिमा हुने बताउनुभयो । उहाँले आगामी प्रतिनिधि तथा प्रदेशसभा चुनावमा एकतावद्ध र एकमतका साथ माओवादी पार्टीका उम्मेदवारलाई विजयी गराउन लाग्न युवाहरुलाई आग्रह गर्नुभयो ।
माओवादी केन्द्र गण्डकी प्रदेशका सचवि जगन्नाथ खनालले वर्तमान समयमा विदेशी शक्तिकेन्द्रको चलखेलको संभावना देखिएकाले राष्ट्रिय मुद्दाहरूमा एकता एवम सहमतिको आवश्यकता देखिएको बताउनुभयो । उहाँले वाईसियल भातृ संगठन मात्र नभइ पार्टीको सहायक संगठन रहेको उल्लेख गर्नुभयो ।
माओवादी केन्द्र गण्डकी प्रदेश कोषाध्यक्ष तारा प्रसाद भुषालले युवाहरूमा वैचारिकता शसक्त र जुझारूपन हुन आवश्यक रहेको बताउनुभयो ।वैठकमा वाइसियल गण्डकी प्रदेस इन्चार्ज राजकुमार दुलाल, वाइसियलका केन्द्रीय शिक्षा तथा विज्ञान प्रविधि विभाग प्रमुख विपिन आचार्य, आइटी विभाग प्रमुख शिव पौडेल लगायतको उपस्थिति रहेको थियो ।
वाइसियल गण्डकी प्रदेशका संयोजक चन्द्र थापा’अर्पण’को अध्यक्षतामा भएको बैठकको सञ्चालन सुनिल सुनार’अटल’ले गर्नुभयो । वाईसियल गण्डकी प्रदेशका एघार जिल्ला बाट रिपोटिङ्ग जिल्ला इन्चार्ज र अध्यक्षले गरेका गर्नुभएको थियो ।