गण्डकीकै पहिलो फोर के प्रविधिको पब्लिक टिभीको परीक्षण सुरु

हिमाली आवाज । गण्डकी प्रदेशकै पहिलो उच्च प्रविधियुक्त पब्लिक टेलिभिजनको मंगलबारबाट परीक्षण प्रसारण सुरु भएको छ । बार्दली मिडियाद्वारा सञ्चालित फोके प्रविधियुक्त टिभीको परीक्षण प्रसारणको शुभारम्भ गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गर्नुभयो।

उद्घाटनपछि मन्त्री विन्दुकुमार थापाले पोखरामा धेरै टेलिभिजन भएपनि पब्लिक टिभी विश्वसनीय र स्तरीय सामग्रीले उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘समाजमा भएका विभिन्न विकृति, विसंगतिहरुलाई चिर्दैै, त्यसलाई न्यूनीकरण गरेर सञ्चार क्षेत्रमा सफलता प्राप्त गरोस् ।’

टिभीका निर्देशक रुद्रप्रसाद अर्यालले प्रविधिले लगातार फड्को मारिरहँदा अवस्थामा पछिल्लो प्रविधिलाई आत्मसात गरी टिभी सञ्चालनमा ल्याइएको बताउनुभयो । मिडिया क्षेत्रमा लामो अनुुभव र दक्षता हासिल गरिसकेका अनुुभवी जनशक्तिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको सुनाउनुभयो ।

टिभीका प्रबन्ध निर्देशक मन क्षेत्रीले वर्षौ अघि देखेको सपना टिभीको परीक्षण प्रसारण सुरु भएसँगै पूरा हुने बाटोमा पुुगेको बताउँदै बार्दली मिडियाले ५ वर्ष अघिबाटै टिभीका लागि योजना बनाइरहेको सुनाउनुभयो । उहाँले भन्नुभयो,‘यसलाई हामी आजको आवश्यकता बमोजिम कन्टेन्टबेस बनाएर अघि बढ्छौं ।’ निकट भविश्यमा अनलाइन पोर्टल पनि सुरु गर्ने र टिभीलाई अहिलेका सबै सामाजिक सञ्जाल एक साथ हेर्न मिल्ने बनाइने क्षेत्रीले बताउनुभयो ।

नेकपा एमाले पोखरा महानगर अध्यक्ष दिलीप न्यौपानेले पत्रकारितामा विकृति देखिएको समयमा पब्लिक टिभीबाट व्यावसायिक पत्रकारिता प्रदर्शन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठले मोफसलबाट सुरु भएपनि पब्लिकले केन्द्रीय स्तरको परिचय दिने र आफैं केन्द्र हुने शुभेच्छा प्रकट गर्नुभयो ।

पब्लिक टिभीका समाचार प्रमुख अमृत सुवेदीले मिडियाको संख्या बढाउन नभइ जनताको आवाज बोल्ने र सत्यतथ्य खबरको उजागरसहित पत्रकारिकताको मर्म अनुरुप काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Comments
Loading...