पोखराको प्याराग्लाइडिङलाई कायमै राख्ने उपाय खोज्छौँ : पर्यटनमन्त्री श्रेष्ठ

हिमाली आवाज । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पोखराको ब्राण्डका रुपमा रहेको प्याराग्लाइडिङ व्यवसाय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि समेत कायमै राख्ने उपाय खोजिने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठनले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले विमानको सुरक्षामा कुनै असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसायलाई कायमै राख्न प्रयत्न गरिने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि हालको प्याराग्लाइडिङ विस्थापित हुनुपर्ने चिन्ताले यहाँका पर्यटन व्यवसायीलाई चिन्तित बनाएको छ ।

पर्यटनमन्त्री श्रेष्ठले भन्नुभयो,“पोखराको ब्राण्ड बनिसकेकाले पर्यटन व्यवसायीले प्याराग्लाइडिङको संरक्षणको माग गर्नुभएको छ । विमानको सेफ्टिमा कुनै पनि सम्झौता गर्नु हुँदैन । सुरक्षामा कुनै पनि असर नपर्ने गरी प्याराग्लाइडिङ व्यवसाय कुनै उपाय हुँदासम्म कायम गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”

Batas Ads

पर्यटनमन्त्री श्रेष्ठले आगामी अङग्रेजी नयाँवर्षदेखी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने बताउनुभयो । हालसम्म ९८ प्रतिशत काम सकिएको विमानस्थल सन् २०२३ को जनवरी १ देखी सञ्चालनमा ल्याउने निर्णय केहीदिनअघि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले गरेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री श्रेष्ठले विमानस्थल सञ्चालनका लागि समस्याका रुपमा रहेका रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनको काम छिट्टै अघि बढाइने जानकारी दिनुभयो ।उहाँले भन्नुभयो,“पोखरा विमानस्थल आगामी जनवरी १ देखी सञ्चालनको निर्णय भएको छ, रिठेपानी डाँडा कटान र ल्याण्डफिल साइट व्यवस्थापनका लागि काम अघि बढाउने प्रक्रिया सुरु गर्नेछौँ ।”

मन्त्री श्रेष्ठले ल्याण्डफिल साइट र फोहोरमैला व्यवस्थापनका लागि महानगरले छिटै व्यवस्थापनको काम गछौँ भनेकाले निर्धारित समयभित्रमै सो समस्या समाधान भएर विमानस्थल सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।

देशका सातै प्रदेशमा एक वर्षभित्रमा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल मेनेजमेन्ट (नाथुम)का कलेज स्थापना गर्ने सरकारको योजना रहेको उहाँले बताउनुभयो । सुरुआतमा गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा सो कलेज स्थापनाको योजना रहेको मन्त्री श्रेष्ठले सुनाउनुभयो ।

पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग बढ्दै गएकाले मागलाई पूर्ति गर्नका लागि नाथुमले सफलता प्राप्त गर्ने र पर्यटन शिक्षा चाहनेहरु काठमाडौँ जानुपर्ने अवस्था अन्त्य हुने विश्वास मन्त्री श्रेष्ठको छ । प्रदेशमा नाथुम कलेज स्थापनाका लागि काठमाडौँ विश्वविद्यालयसँग सम्झौता भइसकेको समेत जानकारी दिनुभयो ।

Comments
Loading...