पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न पर्यटनमन्त्री समक्ष माग

हिमाली आवाज । पर्यटन व्यवसायी सङ्गठन नेपालले पोखराको रत्न मन्दिर र हिमागृह खुला गर्न सङ्घीय सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ समक्ष माग गरेको छ ।

सो सङ्गठनका गण्डकी प्रदेशका अध्यक्ष गणेशराज पहारीले पोखरामा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै विगतमा पूर्वराजपरिवारका सदस्यले प्रयोग गर्ने गरेको र हाल नेपाल ट्रष्टको स्वामित्वमा रहेका यी दुई दरबार सर्वसाधारणको लागि खुला गरी पार्क एवं सङ्ग्रहालयको रुपमा रुपान्तरण गरेर अवलोकनको व्यवस्था गर्न माग गर्नुभयो ।

पर्यटकीय नगरी पोखरास्थित फेवाताल किनारमा अवस्थित रत्न मन्दिर र हिमागृह खुला गर्न यहाँका पर्यटन व्यवसायीले डेढ दशकअघिदेखी माग गर्दै आएका छन् । यी दुई दरबार सर्वसाधारणका लागि खुला भएमा पर्यटकीय गन्तव्य बन्ने र पर्यटकको पोखरा बसाई लम्ब्याउन सहयोगी हुने पर्यटन व्यवसायीको भनाई छ ।

यसैगरी पोखरालाई यथाशीघ्र पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने र पर्यटनलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग घोषणा गरिनुपर्ने माग पर्यटन व्यवसायी सङ्गठनको छ ।होटल प्रतिष्ठान(उद्योग) सरह व्यक्तिगत नाममा रहेका होटल प्रतिष्ठानहरुलाई पनि विद्युत महशुल शुल्कमा प्रदान गरिएको छुट तथा सहुलियत प्रदान गर्न र होटल उद्योगलाई उत्पादनमुलक उद्योग सरह सेवा सुविधा प्रदान गरिएको हुँदा सो सुविधालाई यथाशीघ्र कार्यान्वयन ल्याउन ज्ञापनपत्रमा माग गरिएको छ ।

पृथ्वीराजमार्ग एवं सिद्धार्थ राजमार्गको निर्माण कार्य तथा स्तरोन्नति छिटो सम्पन्न गरी अन्तर्राष्ट्रिय विमानस्थलदेखी लेकसाइडसम्म ‘वाइपास रोड’ निर्माण गर्न आग्रह गरिएको छ ।

यसैगरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आगामी अङ्ग्रेजी नयाँवर्षदेखी सञ्चालन हुने सुःखद् समाचारसँगै विश्वलाई चिनाउने साहशिक हवाई खेल प्याराग्लाइडिङ र अल्ट्रालाइट व्यवसायको दिगो व्यवस्थापन एवं भविष्यको लागि निश्चित समय निर्धारण वा विकल्प खोज्न माग गरिएको छ ।

Comments
Loading...