पोखरामा पहिलोपटक राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने

हिमाली आवाज । पोखरामा आगामी भदौ १२ देखि १९ गतेसम्म प्रथम राष्ट्रिय खुला स्नुकर प्रतियोगिता हुने भएको छ ।

नेपालको सन्दर्भमा भौगोलिक तथा आर्थिक रुपले सुहाउँदो विलियार्ड स्नुकर खेलको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले पहिलोपटक राष्ट्रियस्तरको प्रतियोगिता गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

देविज स्नुकर क्लबको आयोजना तथा नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घ र कास्की जिल्ला विलियार्ड स्नुकर तथा पुल सङ्घको सहयोगमा प्रतियोगिता गर्न लागिएको हो ।

प्रतियोगितामा काठमाडौँ, ललितपुर, भक्तपुर, हेटौडा, बुटवल, नेपालगञ्ज लगायतका शहरबाट गरी १२८ जना खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक शङ्कर गुरुङले बताउनुभयो । उहाँका अनुसार विलियार्ड स्नुकरका चर्चित खेलाडीहरु प्रतियोगितामा सहभागी हुनुहुनेछ ।

प्रतियोगिताको उपाधि विजेताले रु एक लाख ५१ हजार १११, द्वितीय हुनेले रु ७१ हजार १११ र सेमीफाईनल पुगेका दुई जनालाई जनही रु १५ हजार १११ र प्रतियोगिताका हाईएस्ट ब्रेकरलाई रु २१ हजार १११ सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने सङ्घका अध्यक्ष सागर कुमार साइले जानकारी दिनुभयो ।

प्रतियोगिता सम्पन्न गर्न करीव रु १८ लाख खर्च लाग्ने अनुमान गरिएको सङ्घले जनाएको छ । सञ्चालन खर्च प्रदेश सरकार, पोखरा महानगरपालिका तथा विभिन्न सङ्घसंस्था र व्यक्तिहरुबाट सङ्कलन गरी जुटाईने अर्थ समिति संयोजक प्रदीप रसाईलीले बताउनुभयो ।
स्नुकर खेलपनि प्रतियोगितात्मक खेल नै हो भन्ने बुझाउन प्रतियोगिता आयोजना गरिएको सङ्घका महासचिव सविन जिसीले बताउनुभयो । यसैगरी नेपाल विलियार्ड स्नुकर तथा पुल सङ्घले स्नुकर खेललाई आगामी असोज अन्तिम साता पोखरामा तय भएको नवौँ राष्ट्रिय खेलकुदमा समावेश गर्न माग गरेको छ ।

विगतका पाँचौ र छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएपनि त्यसपछिका संस्करणमा स्नुकरलाई समावेश गरिएको छैन । सङ्घका महासचिव जिसीले विगतमा समावेश भएर विभिन्न पदक जितेको यस खेललाई गण्डकी प्रदेशमा हुने राष्ट्रिय प्रतियोगितामा पनि समावेश गर्न राष्ट्रिय खेलकुद परिषद्सँग माग गरिएको बताउनुभयो ।

Comments
Loading...