हिमाली आवाज । प्रेस सेन्टर नेपालका केन्द्रीय पदाधिकारीलाई सेन्टर जिल्ला शाखा कास्कीले आज पोखरामा सम्मान गरेको छ।
शाखाले चौथो महाधिवेशनबाट केन्द्र्रीय उपाध्यक्षमा निर्वाचित त्रिभुवन पौडेल, उपमहासचिव दिपक जलन, सचिवद्वय माधव पनेरु र दिपक भट्टराई, नीति योजना तर्जुमा समिति सदस्य विभू भुषाललाई बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले प्रेस सेन्टरलाई अझै क्रान्तिकारी पत्रकार सस्थाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री बरालले सम्मान गर्ने संस्कारको सुरुवात गरेकोमा जिल्ला शाखाप्रति आभार प्रकट गर्दै समुन्नत राष्ट्र निर्माणमा पत्रकारको भूमिका अहम् रहने गरेको औँल्याउनु भयो ।

अग्रज पत्रकार कोमलनाथ बरालले पत्रकारले समाजलाई अग्रगामि दिशातर्फ लैजान भूमिका निर्वाह गर्नुपर्ने भन्दै मिसन पत्रकारितामा जोड दिनुभयो। उहाँले विगतमा पोखराबाट प्रकाशित हुने स्वाभिमान साप्ताहिकलाई पुनःजीवन दिई पुनःप्रकाशन गर्नुपर्नेमा जोड समेत दिनुभयो ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जनवर्गीय संगठनहरुमा प्रेस सेन्टरको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी निर्वाचनमा क्रान्तिकारी मुद्धा र क्रान्तिकारी नेतृत्वलाई जनतामाझ स्थापित गर्ने कुरामा सेन्टरको भूमिका उल्लेखनीय हुने बताउनुभयो ।
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तेजकुमारी पौडेल, राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगा पोखरेल, पार्टी महानगर सचिव जनकराज पराजुली, सम्मानित त्रिभुवन पौडेल, दिपक जलन, माधव पनेरु, पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सीना, प्रेस युनियन कास्कीका कार्यवहाक सभापति रविना आले लगायतले स्वतन्त्र र जिम्मेवार पत्रकारिताको खाँचो औल्याउनुभयो ।
उहाँहरुले पत्रकारले सामाजिक न्यायको पक्षमा कलम चलाउनुपर्ने, पित पत्रकारिता तोड्नुपर्ने, पत्रकार राजनीतिक दलको तथा कार्यकर्ताको भ¥याङ बन्न नहुने,पत्रकारिता मार्फत समाजवादका मुद्धा जनतामाँझ लैजानुपर्ने लगायतका सुझाव राख्नुभयो ।
प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले सेन्टरलाई अग्रणी र निर्णायक संगठनका रुपमा विकास गरिने र सञ्चारकर्मीहरुका क्षमता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै लगिने बताउनुभयो । कार्यक्रममा उपाध्यक्ष दीननाथ बरालले स्वागत र शाखाका सविच पुष्प दाहालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।