हिमाली आवाज । राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ ।
पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयको हीरक जयन्ती समापन समारोहलाई सम्बोधन गर्दै उहाँले २१ औं शताव्दीको आवश्यकता अनुरुप विश्वव्यापी रुपमा प्रतिष्पर्धा गर्ने जनशक्ति तयार गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले भन्नुभयो, “सिपमुलक, बैज्ञानिक, व्यवहारिक शिक्षा समृद्ध नेपालको आधार शिला हो । मुलुकको सर्वाङ्गीण विकासको आधार शिक्षा भएकोले गुणस्तरीय शिक्षामा नगारिकको समतामुलक एवम् न्यायोचित पहुँच स्थापना गर्नुपर्दछ ।”
राष्ट्रको समृद्धि र विकासका लागि आवश्यक स्रोत साधनहरूको परिचालन गर्ने, तिनको व्यवस्थापकीय क्षमताको विकास गर्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो ।
गण्डकी प्रदेश अनुपम प्राकृतिक सुन्दरता, जैविक विविधता एवम् उन्नत सांस्कृतिक सम्पदाले भरिपूर्ण रहेको बताउँदै राष्ट्रपति भण्डारीले यस क्षेत्रको प्रकृतिक स्रोत तथा सम्पदाहरूमा आधारित उद्यमशीलता प्रवर्दनका लागि आवश्यक पर्ने जनशक्ति विकास गर्ने तर्फ हाम्रा शैक्षिक गतिविधिहरू उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक शिक्षाका क्षेत्रमा राज्यले गरिरहेको लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेका अवस्थामा विन्ध्यवासिनी माध्यमिक विद्यालयले आँफूलाई मुलुकभरकै उत्कृष्ट पाँच विद्यालयमा स्थापित गर्न सकेको भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । विद्यालयले प्राविधिक शिक्षाको थालनी गरेकोमा पनि उहाँले खुसी व्यक्त गर्नुभयो ।
पुर्खाको त्याग र बलिदानबाट राष्ट्रिय एकता, सार्वभौमसत्ता र राष्ट्रिताको जगेर्ना हुँदै आएको उल्लेख गर्दै राष्ट्रपतिले हामीले आफ्नो गौरवपूर्ण इतिहासबाट शिक्षा लिदै मुलुकको विकास र प्रगतिको यात्रालाई बढाउनुपर्ने बताउनुभयो । विद्यालयहरूले प्रदान गर्ने शिक्षाबाट समाज, राष्ट्र र राष्ट्रियता प्रतिको दायित्व बोध हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नविनतम प्रविधिको उपयोग गर्दै सक्षम जनशक्ति तयारी उत्पादनमा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । मुलुकमा महत्वपूर्ण राजनीतिक परिवर्तन भै तीन तहको सरकार कृयाशिल भैरहेको बर्तमान अवस्थामा शिक्षा क्षेत्रमा पनि समयसापेक्ष परिवर्तन गर्नु जरुरी रहेको उहाँले बताउनुभयो । शिक्षालाई समयसापेक्ष बनाउन नसक्दासम्म हामीले आफ्ना सपना पूरा गर्न नसकिने उहाँको भनाइ छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ७५ वर्षको लामो इतिहास बोकेको विद्यालयले आँफूलाई उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सकेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । शिक्षाको विकासका लागि महानगरले मर्यादित शिक्षक र अनुशासित विद्यार्थी कार्यक्रम अघि सारेको बताउँदै उहाँले सामुदायिक विद्यालयहरूको गुणस्तरीयता अभिबृद्धि आँफूहरूको प्राथमिकतामा रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले प्रविधिको प्रयोग मार्फत हीरक स्तम्भको अनावरण एवम् भवनको उद्घाटन गर्नुभयो । कार्यक्रममा विभिन्न योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य, केन्द्रीय आयोजना कार्यान्वयन इकाई(शिक्षा) का निर्देशक रामशरण सापकोटा, अतिथि सत्कार समितिका संयोजक दानबहादुर बानिया लगायतले विद्यालयका विविध अवस्था सम्बन्धमा बोल्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूका तर्फबाट विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । –––