मुस्ताङमा पहिलो पटक शल्यक्रिया मार्फत सुत्केरी गराइयो

हिमाली आवाज । गण्डकी प्रदेश अन्तर्गत हिमाल पारिको जिल्ला मुस्ताङमा पहिलोपटक शल्यक्रिया मार्फत सुत्केरी गराइएको छ ।

जिल्ला अस्पतालमा आज मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । परियारले शल्यक्रिया मार्फत दुई केजी आठ सय ग्राम तौलको छोराको जन्म दिनुभएको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीले अस्पताल सञ्चालनको ३८ वर्षपछि पहिलोपटक शल्यक्रिया मार्फत सुत्केरी सेवा सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले महिलाको सफल शल्यक्रिया गरेको हो हाल महिला र बच्चा दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुस्ताङ जिल्ला अस्पतालमा आवश्यक चिकित्सक र स्वास्थ्य उपकरणको व्यवस्था गरेपछि शल्यक्रिया सेवा सम्भव बनेको हो । अस्पतालले आगामी दिनमा पनि सेवालाई निरन्तरता दिने जनाएको छ । यसबाट जिल्लामै शल्यक्रियाबाट पनि महिलाले सुत्केरी गराउन पाउने र सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको ।

जिल्ला अस्पतालमा पहिलोपटक सफल शल्यक्रिया सुरु भएपछि गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारीले अस्पताल प्रशासन, शल्यक्रियामा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले मन्त्रालयले नागरिकलाई आफ्नो पालिका र जिल्लाभित्रनै स्वास्थ्य उपचार सेवा उपलव्ध गराउन प्रतिवद्ध भएर काम गरिरहेको बताउनुभयो ।

मन्त्री अधिकारीले भन्नुभयो,“संविधानले आ धारभुत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरिसकेको सन्र्दभमा प्रदेशका जनताको स्वास्थ्यको हकलाई सुनिश्चित गर्दे कार्यान्वयन हामी लागि परेका छौँ । स्वास्थ्य सेवाको पहुँचलाई वृद्धि गर्दै लैजाने नीति मन्त्रालयको छ ।”

 

Comments
Loading...