राष्ट्रिय खेलकुदका लागि गण्डकीको अर्थमन्त्रालयद्धारा साढे तीन करोड बजेट निकासा

हिमाली आवाज । गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदका लागि प्रदेश सरकारले रु तीन करोड ४६ लाख बजेट निकासा गरेको छ ।
प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट लगायतका लागि लागि अर्थमन्त्रालयले बजेट उपलव्ध गराएको हो ।

प्रदेश खेलकुद परिषद्को माग र युवा तथा खेलकुद मन्त्रालयको सिफारिस अनुसार मन्त्रालयले सो रकम निकासा गरेको प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले बताउनुभयो ।

प्रदेश खेलकुद परिषद्ले प्रदेशमा राष्ट्रिय खेलकुदको तयारीका लागि रु पाँच करोड माग गरेपनि अर्थले हालका लागि सो रकम उपलव्ध गराएको हो ।

राष्ट्रिय खेलकुदका लागि भनेर चालू आर्थिक वर्षको बजेट कार्यक्रममानै प्रदेश सरकारले रु एक करोड ४० लाख विनियोजन गरिएको थियो । अर्थमन्त्रालयले बजेटमा व्यवस्था गरिएको बाहेक थप बजेट खेलकुद मन्त्रालयलाई उपलव्ध गराएको हो ।

अर्थमन्त्री बरालले राष्ट्रको गौरवसँग जोडिएको राष्ट्रिय खेलकुदमा गण्डकीका टोलीको प्रशिक्षण, तयारी र आधारभूत आवश्यकताका लागि बजेट अभाव हुन नदिइने बताउनुभयो ।

उहाँले भन्नुभयो,“राष्ट्रिय खेलकुदका लागि बजेट अभाव हुन दिँदैनौँ । अहिले निकासा गरिएको रकममा थप बजेट आवश्यक परेमा पुनः बजेट दिन्छौँ । खेलाडीलाई आधारभूत सुविधामा बजेट अभावले कुनै पनि कमी हुन दिँदैनौँ ।”

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश सरकारले खेलाडी प्रशिक्षण सुरु गरेको छ ।

प्रदेश खेलकुद परिषद्ले शुक्रबारदेखी पहिलो चरणमा १४ वटा खेलको विशेष प्रशिक्षण सुरु गरेको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ ।

राष्ट्रिय खेलकुदमा ३६ र दुई प्रदर्शनी खेल गरी ३८ खेलमा पदकका लागि खेलाडीले प्रधिस्पर्धा गर्नेछन् । सफ्ट टेनिस, टेनिस, स्क्वास, खो खो, हक्की, फेन्सिङ, स्विमिङ, ट्रायाथलन, साइक्लिङ, महिला ह्याण्डबल, महिला बास्केटबल, महिला फुटबल, महिला क्रिकेट, प्याराग्लाइडिङ, गल्फ, कुस्ती, सुटिङ र आर्चरी खेलको विशेष प्रशिक्षण सञ्चालन भएको बाँकी हो ।

प्रदेश खेलकुद परिषद्ले बाँकी २२ खेलका लागि दोस्रो चरणमा जिल्ला छनोट प्रतियोगिता हुने जनाएको छ । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिताबाट राष्ट्रियका लागि गण्डकीको टोली तयार हुनेछ ।यही भदौ ९ देखि १२ गते सम्म जिल्ला छनोट प्रतियोगिता सञ्चालन गरिने सदस्य सचिव गुरुङले बताउनुभयो ।

Comments
Loading...