नवौँ राष्ट्रिय खेलकुद:पोखरा रङ्गशालामा स्वास्थ्य केन्द्र सञ्चालन

हिमाली आवाज । आसन्न नवौँ राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा खेलकुद स्वास्थ्य केन्द्रलाई नियमित रुपमा सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश खेलकुद परिषद्द्वारा गठित स्वास्थ्य उपसमितिको बैठकले राष्ट्रिय खेलकुद लगायत प्रदेश र जिल्ला छनोट लाई मध्यनजर गर्दै खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्र नियमित सञ्चालन गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य उपसमितिको बैठकमा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेजबहादुर गुरुङले स्वास्थ्य केन्द्रमा खेलाडीहरुको सहज पहुँच र उनीहरुको प्राथमिक उपचारका लागि ध्यान केन्द्रित गर्न उपसमितिका सदस्यहरुलाई आग्रह गर्नुभयो ।

खेलाडीहरुको प्राथमिक उपचारका लागि स्वास्थ्य केन्द्रलाई थप प्रभावकारी बनाउन आवश्यक मापदण्ड बनाई तयारीमा जुट्न समेत उहाँले आग्रह गर्नुभयो ।उपसमितिको बैठकमा सिनियर फिजियोथेरापिष्ट तथा सल्लाहकार डा.खड्ग सिंह गुरुङ, नेपाली सेना फुलबारी व्यारेकका सेनानी जीवन पौडेल, सोही व्यारेकका स्वास्थ्य प्राविधिक सुवेदार राजेश केसी, उपसमितिका सदस्यहरु शुभकन्या गुरुङ, राजन बडगामी, किरण गुरुङ र मुना थापा बैठकमा सहभागी हुनुहुन्थ्यो ।

पोखरा रङ्गशालामा सञ्चालन हुने स्वास्थ्य केन्द्रमा हाल एक जना स्वयंसेवी परिचारिका नियुक्त गरिएको छ भने थप चिकित्सक र फिजियोथेरापिष्टसहितको जनशक्तिका लागि आवश्यक पहल भइरहेको प्रदेश खेलकुद परिषदले जनाएको छ ।

आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुदको तयारी तीव्र पारिएको छ । गण्डकीका विभिन्न जिल्लाहरुमा खेलाडी प्रशिक्षण सुरु भएको छ भने निर्माणाधीन खेल पूर्वाधारलाई पूर्णता दिन लागिएको छ ।

पोखरा रङ्गशालामा राष्ट्रिय खेलकुद मुल आयोजक समितिको कार्यकारी सचिवालयको स्थापना गरी आवश्यक व्यवस्थापकीय र प्रशासनीक कार्य सुरु भएको छ । प्रतियोगिताका लागि खेलस्थल व्यवस्थापन, प्रचारप्रसार, स्वास्थ्य, स्वयंसेवक व्यवस्थापन लगायत विभिन्न उपसमिति मार्फत काम अघि बढाइएको छ ।

Comments
Loading...