हिमाली आवाज । नेपाल पत्रकार महासंघ कास्कीले तीज विशेष कार्यक्रम गरेको छ । महासंघ कास्कीले हरितालिका तीजको अवसरमा कास्कीमा क्रियाशील पत्रकार महिलाबीच शुभकामना आदान प्रदान गर्दै दर खुवाउने कार्यक्रमआयोजना गरेको हो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री मधुमाया अधिकारी गुरुङले सञ्चार क्षेत्रमा महिलाको सहभागिता भएपछि महिलाको मुद्दा बाहिर ल्याउन सहज हुने बताउनुभयो । सरकारले महिलाको लागि कोटा निर्धारण गरे पनि भने जति अझै सहभागिता नरहेकाले महिला पत्रकारलाई यस्ता विषयमा कलम चलाउन सुझाव दिनुभयो ।
स्वास्थ्य क्षेत्रमा महिलाहरु पछि परेका कारण प्रदेश सरकारले महिलाको स्वास्थ्य सुरक्षाका लागि विविध कार्यक्रम ल्याएको उहाँको भनाई छ । प्रदेशले पाठेघरको क्यान्सर भएकालाई निशुल्क उपचारदेखि सहिद, अपांग र बेपत्ताका परिवारलाई निशुल्क उपचारको प्रबन्ध मिलाएको मन्त्री अधिकारीले बताउनुभयो । पत्रकारका लागि कोरोना विरुद्धको खोप र स्वास्थ्य बिमाका लागि मन्त्रालयको समन्वय गरेको उहाँले बताउनुभयो ।

प्रेस काउन्सिलका सदस्य दुर्गा भण्डारीले महिला पत्रकारहरु अझै मिडिया क्षेत्रमा खुलेर लाग्न नसकेको बताउँदै आफ्नो हकअधिकारका लागि पनि महिलाहरु यस क्षेत्रमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार महासंघ कास्की कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सिनाले सबैलाई तीजको शुभकामना व्यक्त गर्दै महासंघले संस्कार र संस्कृति जगेर्ना गर्दै विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो ।
कार्यक्रम संयोजक तथा महासंघ उपाध्यक्ष जमुना वर्षा शर्माले चाडपर्वको अवसरमा बाँडिएको शुभकामनाले सबै दिदीबहिनीहरुमा कमल चलाउने आँट साहस बटुल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष रविन्द्र बास्तोला, नेपाल पत्रकार महासंघ गण्डकीका सचिव यदुनाथ बञ्जरा, सञ्चारिका समुह, गण्डकी अध्यक्ष कविता श्रेष्ठ लगायतले तीज पर्वको शुभकामना दिनुभयो ।