कृष्ण दवाडी
हिमाली आवाज । तपाई पोखरा महानगरपालिकामा सेवा लिन जाँदै हुनुहुन्छ ? महानगरमा काम छ भने अवदेखी तपाईले विगतमा जस्तो हातमा फाइल बोकेर महानगरका कोठा÷कोठा चाहर्नुपर्ने छैन ।
पहिलाजस्तो फाइल हराउने समस्या भोग्नुपर्ने पनि हुनेछैन । त्यति मात्र होइन, आफ्नो कामको फाइल बुझाएपछि तपाई आरामले कुर्सीमा बस्नुहुनेछ, महानगरका कर्मचारीले भित्रबाट काम सकिएपछि बसेकै ठाउँमा फिर्ता ल्याइदिनेछन् ।
महानगरप्रति केही गुनासा र समस्या छन् भने सिधै महानगरमा फोन गरेर जानकारी गराउन सक्नुहुनेछ । महानगरले तपाईलाई ‘क्विक रेस्पोन्स’ गर्नेछ ।
भौगोलिक रुपमा देशकै सवैभन्दा ठूलो पोखरा महानगरपालिकाले सेवा प्रवाहलाई सरल र सहज बनाउन आजदेखी एकद्धार प्रणाली काउन्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ ।

महानगरको काम झन्झट रहित बनाउन र सेवा प्रवाह सहज, छिटो छरितो, पारदर्शी र नागरिमैत्री बनाउन एकद्धार काउन्टर सुरुआत गरिएको हो ।
सेवाग्राहीलाई महानगरमा फाइल लिएर शाखा र सम्बन्धित फाँटको प्रमुख खोज्दै हिँड्नुपर्ने बाध्यता अन्त्य गरेर महानगरले एकैथलोबाट सेवा दिन सुरु गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।
उहाँका अनुसार महानगरको प्रवेशद्धार बन्द गरेर सेवाग्राहीले बाहिरबाट सबै काम सकेर जाने गरी सेवा प्रवाहको व्यवस्था गरिएको छ ।
महानगरले त्यसका लागि विसं २०१३ मा निर्माण गरिएको भवनलाई अहिले स्तरोन्नति गरेर एकद्धार सेवा सञ्चालनमा ल्याएको हो । सेवाग्राहीलाई बाहिर बस्नका लागि प्रतिक्षालय र कुर्सी राखिएको छ ।महानगरले नगरवासीलाई दिने सेवा सरल र झन्झट रहित बनाउने योजना अनुसार काम सुरु भएको प्रमुख आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो,“महानगरपालिकामा सजिलोसँग काम होस् भनेर एकद्धार सेवा सुरुआत गरेका छौँ । वरिष्ठ अधिकृतहरुले फाइल हेरेर कागजपत्र पुगे÷नपुगेको हुर्नुहुन्छ, अपुग भएमा थप गरेर ल्याउन भन्छौँ । फाइल दर्ता भएपछि कसकोमा गएको छ, त्यो रेकर्ड हुने व्यवस्था हुन्छ । अवदेखी महानगरमा फाइल हराउने भन्ने हुँदैन, कामको प्रक्रिया पूरा हुने वित्तिकै नाम बोलाएर कर्मचारीले बुझाउनुहुनेछ ।”
महानगरले सेवाग्राहीका कागजपत्र सम्बन्धित फाँट र भित्र लैजानका लागि हाल पाँच जना कर्मचारी खटाएको छ । उनीहरुले सेवाग्राहीले फाइल बुझाएपछि प्रक्रिया पूरा गरेर काम सम्पन्न गरेर फिर्ता गर्नेछन् ।प्रमुख आचार्यले महानगरका शाखा र वडाहरुमा पनि एकद्धार प्रणाली लागू गरेर काममा सहजता प्रदान गरिने बताउनुभयो ।
महानगरले ‘हेलो मेयर’ हटलाइन नम्बर पनि सञ्चालनमा ल्याएको छ । टोल फ्रि नम्बर ११८१ मा निःशुल्क सम्पर्क गरी सेवाग्राहीले आफ्ना गुनासा, चासो र सरकोकारका विषय टिपाउन सक्ने र सम्बन्धित शाखा र महाशाखाबाट तत्कालै रेस्पोन्स गरिने महानगरका प्रवक्ता मोतिराज तिमिल्सिनाले बताउनुभयो ।
उहाँका अनुसार हटलाइन नम्बर अहिले विहान ९ः३० बजेदेखी साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । आवश्यकता अनुसार समय थप गर्न सकिने महानगरले जनाएको छ ।

