कांग्रेस वरिष्ठ नेता पौडेलको अपिल :पोखरा विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोकौँ

हिमाली आवाज । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पोखरामा अहिले सञ्चालनमा रहेको आन्तरिक विमानस्थल भूमाफियाको कब्जामा जानबाट रोक्न सबैमा आह्वान गर्नुभएको छ ।

पोखराको विकास सन्दर्भमा आज प्रेस नोट जारी गर्दै नेता पौडेलले हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलको संरचना र भूभागको अधिकतम सदुपयोग गरी रंगीचंगी फूल, वनस्पति र हरियाली सहितको बोटानिकल गार्डेन बनाउन आग्रह गर्नुभएको हो ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि हालको आन्तरिक विमानस्थल सर्ने र अहिलेको स्थानमा विभिन्न व्यापारिक कम्प्लेक्स तथा जमिन भाडामा लगाउने चर्चाकाबीच वरिष्ठ नेता पौडेलेले यस्तो आग्रह गर्नुभएको हो ।

“हिमाल, तालतलैया, रमणीय प्रकृति, संस्कृति र जनजीवनले स्वर्गको टुक्रा झै अनुभूत हुने पोखरामा बन्ने सुन्दर बोटानिकल गार्डेनले त्यहाँ पुग्ने पर्यटक घुम्ने थप गन्तव्य मात्र हुने छैन । यसले बढ्दो घना शहरीकरणसँगै हुने खुल्ला ठाउँको अभावको पूर्ति गर्ने छ भने अर्कातिर यसप्रकारको जमिनको सदुपयोग, संरक्षण र प्रभावकारिता बढ्नेछ । पर्यटकको बसाई लम्बाउन मद्धत गर्नेछ । ” नेता पौडेलले जारी गर्नुभएको प्रेस नोटमा उल्लेख छ ।

नेता पौडेलले पोखरा विमानस्थलको जमिनको उच्चतम सदुपयोगका लागि यससँग सम्बद्ध सरकारी निकाय , गैह्रसरकारी निकाय, पर्यटन व्यवसायी, राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणा सरोकारवाला सबैमा सर्वपक्षीय छलफलको लागि आह्वान समेत गर्नुभएको छ ।

विश्वकै एक पर्यटकीय केन्द्रको पहिचान बनाएको र नेपालको पनि उत्तिकै महत्वको गन्तव्य पोखरामा पोखरा क्षेत्रीय अन्तराष्टिय विमानस्थल बनेर सञ्चालनमा आउन लागिसकेको खवरले आफूमा खुशी र उत्साह जगाएको नेता पौडेलले बताउनुभएको छ ।

विमानस्थलले पोखराको पर्यटकीय पहिचान र पर्यटक आगमनको दायरालाई अझै फराकिलो बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा विमानस्थलको हालको स्थानमा बोटानिकल गार्डेन बनाउने कार्यक्रममा अग्रसरता लिन पोखरा महानगरसँग समेत नेता पौडेलले आग्रह गर्नुभएको छ ।

Comments
Loading...