राष्ट्रिय खेलकुद सफल बनाउने दलका भ्रातृ सङ्घ सङ्गठनको प्रतिवद्धता

हिमाली आवाज । देशका प्रमुख राजनीतिकदल निकट खेलकुदका भ्रातृ सङ्घ सङ्गठनहरुले नवौँ राष्ट्रिय खेलकुद सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका छन् ।

गण्डकी प्रदेशमा आगामी असोज २७ देखी कात्तिक ३ गतेसम्म आयोजना हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेशको गौरवसँग जोडिएकाले सफल बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने उनीहरुले विश्वास दिलाए ।

राष्ट्रिय खेलकुदका सम्बन्धमा प्रदेश खेलकुद परिषद् गण्डकीले पोखरामा आयोजना गरेको सर्वपक्षीय भेलामा राजनीतिक आग्रह पूर्वाग्रहभन्दा मािथ उठेर गौरवसँग जोडिएको प्रतियोगिता सफल बनाउन लागिपर्ने प्रतिवद्धता जनाइएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस निकट लोकतान्त्रिक खेलकुद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्र शेरचनले राष्ट्रिय खेलकुद सफल बनाउन सवैको सामुहिक उत्तरदायित्व रहेको बताउनुभयो । उहाँले भन्नुभयो,“नवौं राष्ट्रिय खेलकुद सवै नागरिक र खेलप्रेमीहरुको साझा कार्यक्रम हो । यसलाई सफल बनाउनु समेत साझा जिम्मेवारी हो ।”
नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घ गण्डकी प्रदेशका सचिवालय सदस्य रामचन्द्र गिरीले ४० वर्ष पछि गण्डकीमा आयोजना हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउन खेलकुद महासङ्घले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।उहाँले भन्नुभयो,“राष्ट्रिय खेलकुद सफल बनाउन यहाँ जुटेका छौं, यसले पनि समाजमा उत्कृष्ट सन्देश प्रवाहित हुनेछ ।”

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष जीवन खातीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका विगतमा भएका खेलकुद कार्यक्रममा गरिएका कमिकमजोरीहरुलाई सुधार गर्दै अघि बढ्नु पर्ने बताउनुभयो।
“विगतका कमीकमजोरी समिक्षा गर्दै अघि बढ्दा प्रतियोगितालाई भव्य बनाउन सकिन्छ । खेलकुदलाई साझा रुपमा बुझ्न आवश्यक मात्रै छैन साझा कार्यक्रमका साथ अघि बढ्न पनि आवश्यक छ ।”उहाँले भन्नुभयो ।

नेकपा(एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासङ्घका पूर्ण लामाले खेलकुदको महाकुम्भमा राजनीतिक विषयलाई पन्छाएर प्रतियोगिता सफल बनाउनुपर्ने तर्फ सबैको सामूहिक प्रयास हुनुपर्ने बताउनुभयो ।

प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङले राष्ट्रिय खेलकुदको तयारी स्वरुप अहिले खेलाडी छनोटको काम भइरहेको बताउनुभयो । जिल्ला छनोटपछि प्रादेशिक छनोट प्रतियोगिता सञ्चालन गरेर प्रदेशको टोली घोषणा गरिने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो,“हामी यति बेला जिल्लाहरुमा खेलाडी छनोटको प्रक्रियामा छौं । प्रतियोगिताको तयारीका काम भइरहेको, यहाँहरुको सवैको सक्रिय सहयोग र सहभागिताले राष्ट्रिय खेलकुद सफल बनाउन ठूलो सहयोग पुग्नेछ ।”

प्रदेशका ११ वटै जिल्लाहरुमा खेलाडी छनोटका लागि जिल्ला छनोट सम्पन्न भएपछि पोखरामा यही भदौ १५ देखि १८ प्रादेशिक छनोट प्रतियोगिता सञ्चालन हुने परिषद्ले जनाएको छ । प्रदेशबाट अन्तिम छनोट भएका खेलाडीहरुलाई आगामी भदौ २६ देखि असोज २६ गतेसम्म एक महिना आवासीय सुविधा सहित पोखरामा बन्द प्रशिक्षणमा राख्ने परिषद्को योजना छ ।

Comments
Loading...