हिमाली आवाज । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले नवौँ राष्ट्रिय खेलकुदका लागि संघीय सरकारले सबै प्रदेशलाई पाँच÷छ करोडका दरले बजेट दिनुपर्ने बताउनुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले केन्द्रले नवौँ राष्ट्रिय खेलकुदका लागि विनियोजन गरेको ६० करोड रुपैयाँमा मध्ये हालसम्म कुनै पनि पैसा प्राप्त नभएकाले तयारीका लागि बजेट नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“केन्द्रबाट हामीलाई छुट्टाएको ६० करोड बजेट खोइ ? त्यो त खेलकुद मन्त्रालयको सिलिङको बजटे होइन, नवौँ लागि छुटएको बजेट हो । बजेट नभएपछि खेलाडीले खाएको पैसा कसले र्तिछ ?”
प्रतियोगिता आयोजना प्रदेश गण्डकीमा संघीय सरकारले खेलकुद पूर्वाधार निर्माणमा एक पैसा पनि खर्च नगरेको मन्त्री गुरुङले दावी गर्नुभयो । आफूले खेलकुद पूर्वाधार बनाउन आग्रह गरेपनि तयारी केही पनि नभएकाले नवौँ खेलकुदको आफूलाई कुनै मतलव नभएको मन्त्री गुरुङले उल्लेख गर्नुभयो ।
सङ्घीय सरकारले प्रतियोगिताका लागि भनेर रु ६० करोड स्वीकृत भएको बताएपनि हालसम्म कुनै पनि रकम प्राप्त नभएकाले छनोट प्रतियोगिता बाहेकका खेलाडीको बन्द प्रशिक्षण सञ्चालनमा कठिनाई हुने बताउनुभयो ।
मन्त्री गुरुङले भन्नुभयो,“प्रतियोगिताका लागि सङ्घीय सरकारले प्रत्येक प्रदेशलाई रु पाँच÷छ करोड विनियोजन विनियोजन गर्नुपर्नेमा हालसम्म रकम प्राप्त नहुँदा तयारीका लागि अप्ठ्यारो पर्दछ । ” मन्त्री गुरुङले राष्ट्रिय खेलकुदका कतिपय पूर्वाधार बजेट अभावका कारण अघि बढ्न नसकेको उल्लेख गर्नुभयो ।

