हिमाली आवाज । आसन्न मंसिर ४ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)ले कास्कीका सबै निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ ।
पार्टीको प्रदेश कमिटीको बैठकले प्रतिनिधिसभाका तीन क्षेत्रमा केन्द्रीय सदस्यले नेतृत्व गर्ने गरी चुनावको कमाण्डर तय गरेको हो । प्रदेशसभाका पाँच क्षेत्रमा चुनावी जिम्मेवारी तोकिएको छ ।
प्रतिनिधिसभा निर्वाच क्षेत्र नं १ को चुनावी कमाण्डरमा पार्टी केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य तेजकुमारी पौडेल तोकिनुभएको छ । प्रदेशसभा १(१) केन्द्रीय सदस्य सोमती तमु र प्रदेशसभाका १(२)मा पार्टी केन्द्रीय सदस्य बखानसिँह गुरुङले चुनावी कमाण्ड गर्ने माओवादीले जनाएको छ ।
यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को चुनावी कमाण्डरमा पार्टी केन्द्रीय सदस्य एवं युवा नेता सुमन देवकोटा तोकिनुभएको छ । उहाँ वाइसियलको निर्वतमान संयोजक समेत हुनुहुन्छ ।
प्रदेशसभा निर्वाचन क्षेत्र नं २(१) मा गंगा पोखरेल कमाण्डर तोकिनुभएको छ । उहाँ भूमि आयोग कास्कीको अध्यक्ष हुनुहुन्छ । २(२)मा टुँगिन बाँकी रहेको बताइन्छ ।
यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ को चुनावी कमाण्डरमा पार्टीका केन्द्रीय सदस्य रामजी प्रसाद बराल(जीवन)लाई जिम्मेवारी तोकिएको छ । उहाँ गण्डकी प्रदेश सरकारको अर्थमन्त्री समेत हुनुहुन्छ । यसैगरी ३(१)को कमाण्डर केन्द्रीय सदस्य आसमान रोका र ३(२) को चुनावी कमाण्ड केन्द्रीय सदस्य एवं सांसद दुर्गा विकले गर्ने माओवादीले जनाएको छ ।
आसन्न निर्वाचनमा माओवादीले कास्कीमा प्रतिनिधिसभातर्फ कम्तिमा १ र प्रदेशसभामा दुई सिट नछाड्ने अडान गठबन्धनमा लिएको छ । विसं २०७४ मा नेकपा(एमाले) र माओवादी केन्द्रकाबीचमा चुनावी तालमेल हुँदा माओवादीले कास्कीमा प्रदेशसभाका तीन सिट पाएको थियो ।

