वर्षाले भलिबलको फाइनल खेल स्थगनपछि पुरस्कार आधा÷आधा बाँडफाँट

हिमाली आवाज । पोखरामा सञ्चालन भएको ‘लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल’ प्रतियोगिताको पुरुषतर्फको फाइनल खेल वर्षाले स्थगन भएपछि दुबै टोलीले पुरस्कार राशी बाँडेर लिएका छन् ।

फाइनलमा पुगेका नेपाल पुलिस क्लब र गण्डकी प्रदेश टिमबीच बिहीबार हुने भनिएको फाइनल खेल निरन्तर वर्षाका कारण आयोजक नवआदर्श सामुदायिक विकास समाजले स्थगन गर्ने निर्णय गरेको थियो ।

खेल सञ्चालनको अवस्था नभएपछि आयोजक, निर्णायक तथा सम्बन्धित टिमका व्यवस्थापक, प्रशिक्षक र क्याप्टेन सहितको बैठकले खेल स्थगित गरी पुरस्कार बाँडेर लिने निर्णय गरेका हुन् ।

सो अनुसार नेपाल पुलिस क्लब र गण्डकी प्रदेशको टिमले प्रथम पुरस्कार र द्धितीय पुरस्कार बापतको रु दुई लाख ५० हजार २२२ आधा÷आधा बाँडेर लिएका छन् ।उपाधि सहित प्राप्त हुने ट्रफीमा अर्को एक थप गरी दुवै टिमलाई बाँडिएको प्रतियोगिताका सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिनुभयो ।

भदौ ११ देखि सुरु भई भदौ १४ गते सम्पन्न गर्ने कार्यतालिका रहेकामा निरन्तर वर्षाले खेलस्थमा प्रतियोगिता संचालनमा कठिनाइ पर्दै आएको थियो ।यसैगरी तृतीय स्थानको लागि प्रतिस्पर्धाको तयारीमा रहेका त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एफिएफको टिमले तेस्रो स्थान वापत प्राप्त हुने रु ५० हजार ११ बाँडेर लिएका छन् ।

महिलातर्फको भलिबल प्रतियोगिताको उपाधि भने नेपाल पुलिसले जितेको छ । न्यु डायमण्ड एकेडेमीलाई बुधबार सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित रु एक लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको हो ।

नवआदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीजको अवसरमा तीज महोत्सवमा महिला राष्ट्रिय भलिबल प्रतियोगिता गर्दै आएकोमा यसपालि पुरुषतर्फको विधा थप गरिएको थियो । प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टिमले भाग लिएका थिए ।

Comments
Loading...