गठबन्धनमा सिट बाँडफाँट न्यायोचित र सम्मानजनक हुनुपर्दछ:अध्यक्ष नेपाल

हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको बताउनुभएको छ ।

पार्टी निकट नेपाल आदिवासी जनजाति महासङ्घ कास्कीको प्रथम भेलाको आज पोखरामा उद्घाटन गर्दै उहाँले सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्नेमा जोड दिनुभयो । आफूहरु सकेसम्म सबैको सम्मान हुने गरी सहमति गर्ने गरी अघि बढेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,“गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक र सहमतिका साथ हुनुपर्दछ । उग्रिएको बाँकी कसैले हामीलाई दिन खोच्छ भने हामी स्वीकार गर्दनौँ । अन्य पार्टीसँग सहमति भएको ठाउँमा सहमतिका साथ र सहमति नबने एक्लै पनि अघि बढ्ने सोचका साथ अघि बढ्ने छौँ ।”
अध्यक्ष नेपालले नेकपा(माओवादी केन्द्र),राष्ट्रिय जनमोर्चा लगायतका कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकताको कुराकानी र वार्ता सम्वाद चलिरहेपनि चुनाव अघि एकता नहुने स्पष्ट पार्नुभयो ।

“चुनावी तालमेलपछि विचार मिल्दै गयो, काम गर्ने सोच र दृष्टिकोण मिल्यो भने सबै आन्दोलनलाई एकतावद्ध बनाउने पक्षमा छौँ । अलग अलग चुलो बाल्न चाहदैनौँ, अलग अलग पसल थाप्न चाहँदैनौँ, सबैलाई एउटै ठाउँमा एउटै छातामुनि ल्याउन चाहन्छौँ । ” अध्यक्ष नेपालले भन्नुभयो,“चुनाव अघि कसैसँग मिल्न गइरहेका छैनौँ, अहिले सम्पूर्ण ध्यान चुनावमा केन्द्रीत गरेर लाग्ने पक्षमा छौँ ।”

अध्यक्ष नेपालले गठबन्धनको मात्र भर नपरिकन आफ्नो जिल्ला र प्रदेशमा पार्टीको नीति प्रचार प्रसार गर्न र जनवर्गिय सङ्घ सङ्गठनहरुको विस्तारमा ध्यान दिन आग्रह पार्टीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

एवं पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले लोपोन्मुख जाति, भाषा, संस्कृतिको रक्षाका लागि सरकारले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

Comments
Loading...