हिमाली आवाज । सुनसरीको कोसी गाउँपालिका–१ मा शनिबार दुर्घटनामा परी दुई प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी सप्तकोसी नगरपालिका–३ का प्रहरी हवल्दार दुर्गानन्द चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार प्रकाश गोजेवार हुनुहुन्छ ।
सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६० प ४४९२ नं को मोटरसाइकललाई पिपरीत दिशाबाट आउँदै गरेको को २ च २६४९ नं को पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो ।
ठक्करबाट चौधरीको घटनास्थलमा र गोजेवारको उपचारका क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ । चौधरी श्रम तथा रोजगार मन्त्रालय प्रदेश नं १ मा कार्यरत हुनुहुन्थ्यो भने गोजेवार मोरङको धनपतिमा कार्यरत रहनुभएको बताइन्छ ।
दुवैको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । ठक्कर दिने सवारीसाधनका चालक कोसी गाउँपालिका–३ का दीपक गोसाईँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

