हिमाली आवाज । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्का प्रदेशमा स्वचालित मुल्य प्रणाली लागू गरिने बताउनुभएको छ । इन्धनको मूल्य बढ्दा स्वचालित रुपमा सवारी भाडा वृद्धि हुने र मूल्य घट्दा भाडा घट्ने गरी मूल्य प्रणाली तत्कालै लागू गरिने प्रतिवद्धता मन्त्री खड्काको छ ।
पोखरेली ट्याक्सी सेवा प्रालि पोखराको आज सम्पन्न चौथो साधारणसभाको उद्घाटन गर्दै उहाँले मुल्यवृद्धिपछि भाडा समायोजनका लागि यातायात व्यवसायीले मन्त्रालयमा निवेदन लिएर आउनुपर्ने बाध्यता अन्त्य हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गर्न लागिएको उहाँको भनाई छ ।
मन्त्री खड्काले भन्नुभयो,“ मन्त्रिरिषद्मा प्रश्ताव लगेर स्वचालित भाडा दर लागू गर्न र भाडा समायोजन गर्न सरकार तयार छ । तर ट्याक्सीलाई मिटरमा गुडाउने दायित्व तपाईहरुको हो । ”
यातायातमन्त्री खड्काले अझैपनि ट्याक्सी मिटरमा नचल्नु भनेको राज्य र पेशाप्रतिको समेत बेइमानी भएकाले राज्यसँग सम्झौता गरेपछि पालना गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले २० वर्ष पुगेका सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने नीति संघीय सरकारको रहेकाले प्रदेश सरकारले यसलाई उल्टाउन नसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय अध्यक्ष विजय स्वारले नीजि क्षेत्रको अरबौँको लगानी रहेको सार्वजनिक यातायातको संरक्षण गर्न सरकारसँग माग गर्नुभयो ।

पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाशमणि तिवारीले प्रदेश सरकारले विसं २०६९ मा लागू गरिएको अवैज्ञानिक सवारी भाडा दर समायोजन गरेर स्वरोजगार व्यवसायी तथा चालकहरुमा हौसला दिएकामा आभार व्यक्त गर्नुभयो ।
तिवारीले स्वचालित भाडादर लागू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो,“सरकारले स्वचालित भाडादर लागू गरेर मन्त्रालयमा धाइरहनुपर्ने अवस्थाको अन्त्य गर्नेछ र हामीलाई रुन पर्ने हुनेछैन भन्ने विश्वासमा छौँ । सरकारसँग आग्रह गर्न चाहन्छौँ । ”
अध्यक्ष तिवारीले २० वर्ष पूराना सवारी विस्थापित गर्नुपर्ने नीतिले खाडी मुलुकमा श्रम गरेर सानो बचतबाट ट्याक्सी व्यवसायमा आवद्ध स्वरोजगार व्यवसायीहरु मारमा पर्ने भएकाले सरकारले पुनःविचार गर्न माग गर्नुभयो ।देशको अर्थतन्त्र चरम संकटमा भएको अवस्थामा सो नीति व्यवहारिक समेत नहुने भनाई तिवारीको छ ।
कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ सरोज सिटौला, हरिशरण केसी, ऐनकुमार साई, यातायात व्यवसायी महासंघ गण्डकीका संयोजक केदार पौडेल, पृथ्वीराजमार्ग यायात कम्पनी प्रालिका अध्यक्ष योगेन्द्रबहादुर केसी, मजदुर नेता विष्णु केसी, स्वरोजगार व्यवसायी हरि गौतम लगायतले यातायात क्षेत्रलाई हेर्ने सरकारको गलत नीति परिर्वतन हुनुपर्नेमा जोड दिनुभययो ।
साधारणसभाले प्रालिका संचालक एवं सचिव युवराज भट्टराईको विसं २०७८।०७९ को कार्यप्रगति प्रतिवेदन तथा चालू वर्षको प्रश्तावित कार्ययोजना पारित गरेको छ । कार्यक्रमको सञ्चालन प्रालिका सञ्चालक एवं विमा प्रमुख पूर्णबहादुर गुरुङले गर्नुभएको थियो । साधारणसभाका अवसरमा पत्रकारहरु यदुनाथ बञ्जारा र शिवराज बस्ताकोटी लगायतलाई सम्मान गरिएको थियो ।