हिमाली आवाज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँटफाँट टुंगो लगाउने गरी अन्तिम छलफल भइरहेको बताउनुभएको छ ।
प्रचण्डले कांग्रेसले ८० सिट र माओवादीले ६० सिट पाउने दावी गर्नुभयो । ।धनगढी विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भोली शीर्ष तहका नेताहरु बसेर सिट बाँडफाँट टुंगो लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास छ । माओवादी केन्द्रले पनि ६० सिटमा दाबी छ, त्यसकै वरिपरि सहमति जुट्ने विश्वास लिएका छौँ ।”
एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका पनि आ–आफ्ना दाबी रहेको भन्दै प्रचण्डले २५ सिटको वरिपरि उनीहरुको स्थिति भएकाले त्यसैलाई आधार बनाएर सवै पार्टीका प्रतिनिधिहरु बसेर क्षेत्र र प्रदेशसम्म हेरेर टुंग्याउने प्रयासमा रहेको बताउनुभयो ।
प्रदेश र संघको निर्वाचनमा केन्द्रित भएको बताउँदै उहाँले भन्नुभयो, ‘गठबन्धन कायम भएरै जान्छ त्यसको अन्तिम तयारी चलिरहेको छ ।” प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको उल्लेख गर्नुभयो ।