हिमाली आवाज । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय महाधिवेशन पोखरामा हुने भएको छ ।
महासंघले आज पोखरामा पत्रकार सम्मेलन गरी यही भदौ २४ र २५ गते पहिलो महाधिवशेन गर्न लागिएको जनाएको छ । महाधिवेशनको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
महाधिवेशनमा देशैभरीबाट गरी ५०० प्रतिनिधि र पर्यवेक्षक २५ जना गरी ५७५ जना प्रतिनिधि र पर्यवेक्षकको सहहभागिता रहने महासंघका अध्यक्ष डा कृष्णसागर पौडेलले जानकारी दिनुभयो । पोखराको जिरोकिमीस्थित गोल्डेन हाउस पार्टी प्यालेसमा कार्यक्रम हुनेछ ।
देशका सातै प्रदेश अन्तर्गतका ७७ जिल्ला र अधिकाँस पालिकाहरुमा महासंघ र महासंघ अन्तर्गतका घटक संगठनहरु क्रियाशील रहेको बताइन्छ ।पोखरामा दुई दिनसम्म सञ्चालन हुने सम्मेलनबाट आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ ।
यसैगरी स्वास्थ्य क्षेत्रका समस्या, समाधानका उपायहरु,समाजवादउन्मुख स्वास्थ्य नीति,स्वास्थ्य क्षेत्रको विकास एवं स्वास्थ्यकर्मीहरुका पेशागत अधिकार बारे महाधिवशेनमा गहन छलफल गरी कार्यान्वयनका लागि सवल र सक्षम नेतृत्व चयन गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।
विसं २०६३ मा स्थापना भएको संगठन विसं २०६५ मा महासंघमा परिर्वतन हुँदै आफ्ना कार्यक्रममहरु ग्ािड बढाइरहेको र महासंघमा देशभर गरी ५० हजार संगठित सदस्यहरु आवद्ध रहेको महासंघका नेता सागर लुईटेलले बताउनुभयो ।
नेपाल सरकारको कार्यालयहरुमा आवद्ध स्वास्थ्य स्वयंसेविकादेखी १२ तहका स्वास्थ्यकर्मीहरुसम्म, प्राविधिक शिक्षा लिएका स्वास्थ्यकर्मीदेखी उच्च पदस्य प्राध्यापकसम्म विभिन्न स्वास्थ्य व्यवसाय गर्ने स्वास्थ्यव्यवसायीहरुदेखी औषधी उत्पादन गर्नेसम्महरु महासंघमा आवद्ध रहेको केन्द्रीय उपाध्यक्ष शिव केसीले जानकारी दिनुभयो ।
यसैगरी देशभर व्यक्तिगत रुपमा स्वास्थ्य पेशामार्फत जनतलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी लगायत जनयुद्धको बेला युद्धमोर्चामा सामेल स्वास्थ्यकर्मीहरु समेत यस संस्थामा आवद्ध भएको बताइइन्छ ।

