हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीमा डिजिटल नागरिक वडापत्र सुभारम्भ सञ्चालनमा ल्याइएको छ ।
निजामती सेवा दिवस–२०७९ का अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीले सञ्चालनमा ल्याएको डिजिटल नागरिक सेवा वडापत्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सुभारम्भ गर्नुभयो ।
प्रशासनले सुरु गरेको डिजिटल श्रव्यदृश्य सहितको वडापत्रमा प्रशासनले प्रदान गर्ने सेवा, सो सेवा प्राप्तिको प्रक्रिया, आवश्यक कागजपत्र, सम्बन्धित शाखा र कोठा नम्बर समेत उल्लेख गरिएको छ ।
प्रशासनको मुख्य प्रवेशद्धार,प्रतिक्षालय,सेवाग्राहीको बढी भीड हुने नागरिकता,राहदानी लगायतका शाखा गरी विभिन्न पाँच स्थानमा डिजिटल वडापत्र र ‘डिस्प्ले’ रहने प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताउनुभयो ।उहाँका अनुसार श्रव्यदृश्य सामग्रीबाट सेवाग्राहीले सुनेर, पढेर र हेरेर आफूलाई आवश्यक जानकारी थाहा पाउन सक्नेछन् ।

प्रजिअ आचार्यले भन्नुभयो,“ भिडियो र अडियो सहितको सामग्रीले पढ्न नजान्ने सेवाग्राहीहरुका लागि समेत सहयोग पुग्नेछ । प्रशासनको फेसबुक पेज सहित स्थानीय सरकारका वडा कार्यालयहरुसम्म यसलाई लैजाने योजनामा छौँ ।”
कार्यक्रममा मुख्यमन्त्री गुरुङले सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयहरुलाई प्रविधिमैत्री बनाउनु अहिलेको दायित्व रहेको बताउनुभएको छ ।
उहाँले व्यवस्था परिर्वतनको अनुभूति जनताले आफ्नो व्यवहारमा महशुस गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो,“व्यवस्था परिर्वतनको अनभूति व्यवहारमा नभएको गुनासा समाजका विभिन्न तहबाट आएका छन् । परिर्वतको लक्ष्य नागरिक र जनताको सेवामा सहजता ल्याउनु हो, जनताले विगतमा भन्दा फरक ढङ्गले महशुस गर्ने गरी सम्बन्धित निकाय लाग्नु पर्दछ ।”
मुख्यमन्त्री पोखरेलले प्रशासनले सुरु गरेको डिजिटल प्रविधिले सार्वजनिक सेवा प्रवाह र सुशासनमा नयाँ फड्को मारेको उल्लेख गर्दै यसको उपयोग सबै जनसमुदायले गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
प्रदेश सरकारका प्रमुख सचिव रविलाल पन्थले डिजिटल बडापत्र अन्य कार्यालयहरुका लागि समेत अनुकरणीय हुन सक्ने र कार्यालयको कार्यसम्पादन सरल र सुशासनलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।