हिमाली आवाज । निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तोकिएकै मितिमा संचालनका लागि आबश्यक तयारी तीव्र पार्न सरोकारवालाहरुले जोड दिएका छन् ।
होटल संघ पोखरा नेपालको ४१ औं वार्षिक साधारण सभाका अवसरमा वक्ताहरुले उक्त विमानस्थल संचालनमा ल्याउने क्रममा पहिलो उडान अन्तर्राष्ट्रिय प्रकृतिकोनै हुनुपर्ने माग गर्नुभयो । कार्यक्रममा बोल्दै संघका अध्यक्ष लक्ष्मण सुवेदीले लामो दवावपछि विमानस्थलको निर्माण कार्य अनसननै बसेर सुरुवात गराउनु परेको स्मरण गराउनुभयो नयाँ विमानस्थललाई घरेलु विमानस्थलका रुपमा अगाडि बढाउने चलखेल हुन सक्ने भन्दै त्यसविरुद्ध सम्पूर्ण गण्डकी प्रदेशवासी एक हुनुपर्ने भनाई राख्नुभयो ।
सो अवसरमा बोल्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल संचालनमा ल्याउनुपूर्व गर्नुपर्ने रिट्ठेपानी डाँडाको कटान र ल्याण्डफिलसाइटको स्थान्तरण समयमै हुनुपर्नेमा जोड दिनुभयो । उहाँले डाँडो कटान सक्न ६ महिना सम्मको अवधि लाग्ने कुरा समेत उठेको भन्दै यसले विमानस्थलको संचालन पछि धकेल्न सक्नेतर्फ ध्यानाकर्षण गराउनुभयो । आबश्यक परे परिषद् र यस अन्तर्गतका संस्थाहरु डोजर लिएर डाँडो काट्न जानुपर्ने भनाई पनि उहाँको छ ।
यसअघि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गर्दै पोखराको विकासका लागि आफू दिनरात नभनी खटिरहेको बताउँदै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालदेखि विमानस्थल संचालन सम्मका कामप्रति आफू सचेत रहेको भनाई राख्नुभयो ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालन ः पोखरा र गण्डकी प्रदेशको पर्यटन’ उद्घोषसहित संघले आयोजना गरेको साधारणसभामा बोल्दै होटल संघ नेपाल (हान) का अध्यक्ष सिर्जना राणाले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सवालमा केन्द्रिय हानको पूर्ण सहयोग रहने बताउनुभयो । अब सरकारको मात्र मुख ताकेर बस्ने अवस्था नभएको भन्दै उहाँले प्रबद्र्धन लगायतका काममा व्यवसायी आफैं अगाडि बढ्नुपर्ने वेला आएको उल्लेख गर्नुभयो ।
हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका सल्लाहकार भरतराज पराजुलीले पृथ्वीराजमार्गको मुग्लिन पोखरा खण्ड र महेन्द्र राजमार्गको वुटवल नारायणगढ खण्डमा सडकको स्तरोन्नती अति सुस्त गतिमा हुँदा पर्यटनलाई असर परेको बताए । यसकारण पनि पोखराको नयाँ विमानस्थल यथासक्य शीघ्र संचालनमा ल्याई रातिमा समेत उडान हुने व्यवस्था गर्नुपर्ने भनाई पराजुलीले राख्नुभयो ।
होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले कोभिडपछि पनि सरकारले चर्को कर असुल्न नछाडेको भन्दै पर्यटन क्षेत्रमा मजदूरका लागि व्यवस्था गरिएको १० प्रतिशत सेवा शुल्क दुईतीन बर्ष स्थगित गर्न सके कोभिडले थला परेको पर्यटन क्षेत्र अघि बढ्न सहज हुने राख्नुभयो ।
कार्यक्रममा वक्ताहरुले कोभिडपछि पर्यटन क्षेत्र विस्तारै लयमा फर्के पनि सरकारले गतबर्षजस्तो राहातका कार्यक्रम नल्याएको गुनासो गरेका थिए । कोभिडका वावजूद होटल क्षेत्र हतोत्साही नभएको होटल संघ पोखरा नेपालका अध्यक्ष सुवेदीले भनाई राख्नुभयो । । कोभिडका कारण धेरै मजदूर र व्यवसायी पलायन भएको स्मरण गराउँदै उहाँले व्यवसायीका समस्या बुझ्ने र सोही अनुसारको कानून बनाउने सरकार जरुरी भएको भनाई राख्नुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी र होटल संघ पोखरा नेपालका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले पनि कार्यक्रममा भनाई राख्नुभयो ।

