उन्नति सहकारीको अध्यक्षमा पुनः रानाभाट निर्वाचित,संस्थालाई प्रदेशकै नमूना बनाउने प्रतिवद्धता

हिमाली आवाज । पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा राजेश रानाभाट सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशनले रानाभाटको अध्यक्षतामा आगामी चार वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत चयन गरेको हो । अध्यक्षमा चयन हुनुभएका रानाभाट दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन हुनुभएको हो ।यसैगरी संस्थाको उपाध्यक्षमा लेखनाथ अर्याल, सविच रेवतिरमण भण्डारी, कोषाध्यक्षमा प्रमोद थापा चयन हुनुभयो ।

सञ्चालक समितिको सदस्यहरुमा बैकुण्ठ बराल, राजेश शर्मा र विनोज पोटे चयन हुनुभएको छ । संस्थाको लेखासुपरिवेक्षण समितिको संयोजकमा सिए पुरोचन उदास तथा सदस्यहरुमा धुर्वराज सुवेदी र अनिल लिगल हुनुहुन्छ ।

नवनिर्वाचित सञ्चालक समिति र  लेखा सुपरिवेक्षण समितिका अध्यक्ष, संयोजक लगायत सदस्यहरुलाई संस्थाका पूर्वअध्यक्ष पदमबन्धु पोखरेलले बधाई तथा शुभकामना व्यक्त गर्दै नमूना काम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सहकारी रजिष्ट्रार रमेश घर्तिले सहकारी संस्थाहरुले सहकारीका सात सिद्धान्त अक्षरस अनुसरण गर्नुपर्ने बताउनुभयो ।

उहाँले हाल वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव लगायतका समस्या र चूनौतीकाबीच अवसर पनि रहेकाले सोको खोजी स्वयम् संस्थाहरुले पहिचान गर्दै काम गर्नुपर्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष राजेश रानाभाटले विगतमा कोरोरा महामारीका कारण आफ्नो नेतृत्वको सञ्चालक समितिले योजना अनुसार काम गर्न नसकेपनि आगामी दिनमा संस्थालाई गण्डकी प्रदेशकै उत्कृष्ट र अनुकरणीय संस्थाका रुपमा विकास गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सभामा अध्यक्ष रानाभाटको वार्षिक प्रतिवेदन,कोषाध्यक्ष प्रमोद थापा तथा विमल लम्सालको लेखा सुपरिवेक्षण प्रतिवेदन पारित गरेको संस्थाका प्रवन्ध निर्देशक भगवान भट्टराईले जानकारी दिनुभयो ।

Comments
Loading...