काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैसँग गठबन्धन नगरी एक्लै चुनावमा जाने बताउनुभएको छ ।
नेकपा (एमाले) धनुषाले सोमबार आयोजना गरेको बृहत जनसभामा उहाँले आफ्नै एजेन्डा र उद्देश्यका साथ एमाले एक्लै चुनावमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पार्नुभयो ।
आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण आफ्नो दलले निर्वाचनमा बहुमत ल्याउने दावी गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ’एमाले कसैसँग गठबन्धन गर्दैन। एमाले श्रमिक, सुकुम्बासी, भूमिहीन, मधेसी, पहाडीया र हिमालीलगायत आम नेपालीको पार्टी हो।’
आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न उहाँले निर्देशन पनि दिनुभयो । अबको निर्वाचन सामान्य नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने भएको उल्लेख गर्दै उहाँले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक संकटमा फस्ने दाबीसमेत गर्नुभयो ।
एमाले नेतृत्वको सरकारले मात्र समृद्धिको लक्ष्य पूरा गर्नसक्ने बताउँदै उहाँले भन्नुभयो, ’गठबन्धनले देशलाई पछाडि धकेल्ने काम गरेको छ। नेपालीले देखेको समृद्ध नेपाल र सुखी नेपालीको सपना केबल एमालेले मात्र पूरा गर्न सक्छ।’