हिमाली आवाज । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा सौगात थापा मनोनित हुनुभएको छ ।
संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघको विधानको परिच्छेद ६ अन्तर्गत ६.१ ‘ड’ को अधिकार प्रयोग गर्दै सदस्य प्रतिष्ठान बगैंचा वेलनेस रिसोर्टका थापालाई कार्यसमिति सदस्यमा मनोनित गर्नुभएको हो । संघको विधानले अध्यक्षलाई ४ जना सदस्य मनोनित गर्ने अधिकार प्रदान गरेको छ ।
यसैबीच पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पवनकुमार प्रजापतिसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पदभार ग्रहण गरेका गर्नुभएको । शनिबार सम्पन्न ३४ औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष प्रजापतिसहित संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, उद्योग उपाध्यक्ष देवेन्द्र केसी,वाणिज्य उपाध्यक्ष उत्तममान बुद्धाचार्य,महासचिव बलराम आचार्य, कोषाध्यक्ष दीनेशचन्द्र बास्तोला,उपमहासचिव शोभा गौतमसहित कार्यसमितिका सदस्यहरुलाई संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले पदस्थापन गराउनुभयो । पदस्थापन कार्यक्रममा संघका निवर्तमान महासचिव सुरेन्द्रमान विजुक्छेको पनि उपस्थिति रहेको थियो ।
पदस्थापन कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै संघका अध्यक्ष पवनकुमार प्रजापतिले निजी क्षेत्रको उन्नयन तथा पोखराको समग्र आर्थिक विकासको लागि एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । पोखरा उद्योग वाणिज्य संघको मंगलबार नै बसेको पहिलो कार्यसमिति बैठकले विभिन्न निर्णयहरु पनि गरेको छ ।
अध्यक्ष प्रजापतिको अध्यक्षतामा सोमबार नै बसेको बैठकले संघको सचिवालय गैह्रापाटनमा बहुउद्देश्यीय भवन निर्माणका लागि वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ भने व्यवसायीमाथि आइपर्ने पीरमर्का संवोधनको लागि व्यवस्था गरिएको हेल्पडेक्सको संयोजकको जिम्मेवारी पनि वरिष्ठ उपाध्यक्ष कार्कीलाई नै सुम्पेको छ ।
बैठकले निर्वाचन सम्पन्न गर्न सहयोग पु¥याउने सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन पनि गरेको छ । सो अवसरमा संघका निवर्तमान अध्यक्ष नारायण कोइरालाले नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

