हिमाली आवाज । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुद आउन ठीक एक महिना बाँकी छँदा प्रतियोगिता अन्तर्गतका ३६ खेलका खेलस्थल सार्वजनिक गरिएको छ ।
प्रदेशको राजधानी सहर पोखरालाई मुख्य आयोजनास्थल मान्दै प्रदेशका सात जिल्लामा खेल खेलाउने टुङ्गो लगाइएको हो । खेलस्थल र खेलतालिका सार्वजनिक सँगै प्रतियोगिता मुख्य आयोजनास्थल पोखरामा राष्ट्रिय खेलकुदको सरगर्मी बढेको छ ।
खेल स्थल सार्वजनिक गर्न निर्धारित समयभन्दा केही ढिलाईभएकामा आज राष्ट्रिय खेलकुद परिषद्ले पोखरामा एक कार्यक्रम आयोजना गरी सबै खेलका खेलस्थल र खेल तालिका सार्वजनिक गरेको हो ।
आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म हुने प्रतियोगिताका लागि कास्की सहित स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुद अन्तर्गतको कम्तिमा एक खेल खेलाउने भनिएपनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको छ ।अधिकाँस खेल पोखरामा केन्द्रित गरिएका छन् ।
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रङ्गशालामा खेलाईने छ । पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिम्नष्टिक, ह्याण्डलबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसुको प्रतियोगिता पोखरा रङ्गशालमा हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं प्रतियोगिताको खेलस्थल व्यवस्थापन उपसमितिका संयोजक राजेश गुरुङले बताउनुभयो ।बास्केटबल पुरुष पोखरा रंगशाला र महिलाको खेल पृथ्वीनारायण क्याम्पस, आर्चरी , फेन्सिङ पोखरा रंगशालमा हुनेछ ।
यसैगरी जुडो र फुलकन्ट्याक्ट कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ ।
पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग बाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्श, साइक्लिङ, ट्रायथोलन, प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ ।
रग्बी भण्डारढीक खेल मैदान, कबड्डी महिला पुरुष दुबै रन्जित पार्टी प्यालेस रानीपौवा,खोखो पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाईने निर्णय परिषद्ले गरेको छ ।यसैगरी म्याग्दीमा तेक्वान्दो र महिला भलिबल हुनेछ भने बाग्लुङमा आईटिएफ तेक्वान्दोको प्रतियोगिता हुनेछ । नवलपुरमा सेपाक ताक्रो र कुस्ती, गोरखामा बुद्धिचाल खेलाउने तय गरिएको छ । स्याङ्जाको वालिङमा महिला फुटबल आयोजना हुनेछ । यसैगरी पूर्वाधार अभावमा सुटिङ भने काठमाडौँमा खेलाइने भएको छ ।
यसैगरी परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्ष्य गरी नेशनल स्पोर्टस् काउन्सिल एप सञ्चालनमा ल्याएको छ । सो एपबाट खेलको तयारी, नतिजा लगायतका सबै विवरणहरु जानकारी दिइने परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताउनुभयो । उहाँका अनुसार खेलस्थल र खेल तालिका बनिसकेकाले तयारीका काम अघि बढाइएको छ ।
परिषद्ले पहिलो पटक खेलाडीहरुको अनलाइन दर्ता सुरु गरिएको जनाएको छ । प्रत्येक टोलीले खेलाडीहरुको अनलाइन फारम भर्नुपर्ने उहाँले जानकारी दिनुभयो ।
प्रतियोगिताको औपचारिक उद्घाटन असोज २८ गते हुने भएपनि परिषद्ले सो अघिनै खेलतालिका बनाएको छ । नवौँ अन्तर्गतको पुरुष क्रिकेट हाल राजधानी काठमाडैँमा जारी छ । क्रिकेट महिला असोज २३ गतेदेखी पोखरामा सुरु हुनेछ ।
प्रतियोगिताको मुल ट्रफी भदौ ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाबाट सार्वजनिक गरिने र सातै प्रदेशका मुख्यमन्त्रीहरुको उपस्थितिमा ट्रफी प्रर्दशनी ¥याली आयोजना गरिने सदस्य सचिव घिसिङले बताउनुभयो ।
ट्रफी ¥यालीका लागि ओलम्पियन दीपक विष्टको संयोजकत्वमा पाँच सदस्सीय कार्यदल गठन भईसकेको र प्रदेशगत प्रदर्शनी असोज १ गतेदेखी सुदुरपश्चिमबाट सुरु गरी क्रमश ः अन्य प्रदेश तथा तीन विभागीय टोली नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलमा लगिने परिषद्का सदस्य एवं प्रचार प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले बताउनुभयो ।
कार्यक्रममा प्रचार प्रसार उपसमितिका सचिव खुशराज दाहालले नवौँमा सात प्रदेश, तीन विभागी र एनआरएनको एक गरी ११ टोलीले १ हजार ३८६ पदकका लागि प्रतिस्पर्धा गर्ने जानकारी दिनुभयो ।


