होटल संघ पोखराले भन्यो :ब्याजदर वृद्धिको निर्णय पर्यटनलाई थप पीडादायी

हिमाली आवाज । बैंक तथा वित्तीय संस्थाहरुले यही असोज १ गतेदेखि लागू हुने गरी गरेको ब्याजदर वृद्धिको निर्णय फिर्ता लिन होटल संघ पोखरा नेपालले माग गरेको छ ।

कोभिड १९ बाट थला परी भर्खर उठ्ने प्रयास गर्दै गरेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिको निर्णय थप पीडादायी भएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो ।

बैंक तथा वित्तीय संस्थाको उक्त कदमले निक्षेपमा ब्याज बढ्दा कर्जाको ब्याजदर पनि उच्च तहमा पुग्ने र व्यवसायमा जोखिम थपिने मात्र नभई बन्द नै हुने अवस्था सिर्जना हुने उल्लेख गरिएको छ । ब्याजदर वृद्धिले मुद्रास्फीतिमा समेत चाप पर्ने भन्दै संघले ब्याजदर वृद्धिविरुद्ध सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने माग गरेको छ ।

ब्याजदर बढ्दा उत्पादन र सेवाको लागत बढ्ने मात्र नभई सर्वसाधरण समेत महंगीको मारमा पिल्सिने अवस्था सिर्जना हुने जनाउँदै संघले राहात खोजिरहेको पर्यटन क्षेत्रका लागि ब्याजदर वृद्धिले आहात थप्ने काम गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ब्याजदर वृद्धिले अर्थतन्त्रमा पनि असन्तुलन पैदा गर्नेछ । अहिलेको असहज अवस्थामा गरिएको ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगित गर्न आग्रह गर्दछौं ।’

Comments
Loading...